२०८३ जेठ १२ , मंगलबार
महसुल संकलनलाई कडाइ गर्ने नीति अनुमोदन

छिन्चु उपत्यका खानेपानी संस्थाले नयाँ मुहान खोज्नेदेखि पूर्वाधार विस्तारसम्मको योजना अघि सार्यो

नगरपालिकाले ऐन बनाएर खानेपानी, सरसफाई एवं स्वच्छता एकाइ गठन गरी काम गरिरहेको छ : नगरप्रमुख ढकाल


नवराज रोकाय

सुर्खेत : पानीको स्रोत घट्दै जाँदा उपभोक्ताको माग निरन्तर बढिरहेको निष्कर्षसहित छिन्चु उपत्यका खानेपानी संस्थाले नयाँ मुहान खोज्ने, जीर्ण संरचना सुधार गर्ने र सेवा क्षेत्र विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
भेरीगंगा नगरपालिका–१२ मा शनिबार सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ५२ लाख ५ हजार ६ सय २२ रुपैयाँको आय–व्यय प्रस्ताव पारित गर्दै खानेपानी व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने रणनीति सार्वजनिक गरेको हो ।
वि.सं. २०५६ सालमा १ सय धारा मार्फत सेवा सुरु गरेको संस्था अहिले १ हजार ४ सय २ धारा सम्म विस्तार भएको छ। २५ संस्थागत उपभोक्तासहित भेरीगंगा नगरपालिकाको वडा नं. १० र १२ का मुख्य बजार क्षेत्रमा संस्थाले दैनिक पानी वितरण गर्दै आएको छ।
संस्थाका अध्यक्ष धर्मराज खड्काले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा सबैभन्दा ठूलो चुनौती स्रोत अभाव र बढ्दो खानेपानीको माग रहेको उल्लेख गर्दै समस्या समाधानका लागि नयाँ पानीका स्रोत पहिचान गरी स्थानीय, प्रदेश र संघीय सरकारसँग योजना माग गरिने बताए।
उनले उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन शुद्धीकरण प्रणाली विकास गर्ने, लिफ्ट पानिकालागी आवश्यक जेनेरेटर, मोटर, पाइप, मिटर खरिद गर्ने तथा वितरण प्रणाली सुधार गर्ने योजना रहेको जानकारी दिए। आवश्यकता अनुसार मुख्य लाइन, शाखा लाइन र वितरण पाइप परिवर्तन गरिने समेत उनले बताए।
संस्थाले महसुल संकलनलाई पनि कडाइ गर्ने नीति लिएको छ। समयमै महसुल बुझाउनेलाई छुट दिने, नबुझाउनेलाई जरिवाना गर्ने र आवश्यक परे सेवा बन्द गर्ने नीति साधारणसभाले अनुमोदन गरेको छ । लामो समयदेखि बन्द रहेका वा सञ्चालनमा नरहेका धाराहरूको लगत कट्टा गरिने बताईएको छ।
वर्षौंदेखि प्रयोगमा रहेका इन्टेकदेखि रिजर्भ ट्यांकीसम्मका जीर्ण जीआई पाइप परिवर्तन गर्न तिनैतहका सरकारी निकायसँग बजेट मागिने भएको छ। भवन, पम्प हाउस, इन्टेकलगायत संरचनाको संरक्षणका लागि अस्थायी काम सम्पन्न भइसकेको र अब व्यवस्थित घेराबारका लागि सरकारी तथा गैरसरकारी सहयोग खोजिने संस्थाले जनाएको छ।
प्रशासनिक सुधारतर्फ संस्थाले विद्युतीय बैंकिङ कारोबारलाई प्राथमिकता दिने, फेसबुक पेजमार्फत दैनिक गतिविधि सार्वजनिक गर्ने र आफ्नै मोबाइल एप्सको प्रयोग बढाउने योजना बनाएको छ। कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्घटना बीमा गर्ने तथा तालिम र अध्ययन भ्रमणमार्फत क्षमता विकास गरिने भएको छ।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष खेमराज वलीले खानेपानी संस्था नाफामूलक नभई सेवामूलक निकाय भएकाले राज्यले २५ प्रतिशत आयकर लगाउनु अन्यायपूर्ण भएको बताए । उपभोक्ताले थोपा–थोपा गरी खानेपानी मर्मतका लागि जम्मा गरेको महसुल रकममै राज्यले कर लगाउनु दुःखद भएको उनको भनाइ थियो ।
केन्द्रीय अध्यक्ष वलीले राज्यले सिंचाइको क्षेत्रमा विद्युत महसुल छुट दिए पनि खानेपानी क्षेत्रमा छुट नदिइनु विभेदपूर्ण भएको टिप्पणी गरे। उनले २ हजारभन्दा कम धारा भएका खानेपानी आयोजनालाई स्थानीय तहमार्फत सञ्चालन गर्न सकिने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न उनले भेरीगंगा नगरपालिकालाई आग्रह गरे।
यस्तै भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले नगरपालिकाले खानेपानी सम्बन्धी ऐन बनाइसकेको उल्लेख गर्दै सबै संस्थाले कानुनी ढाँचाभित्र रहेर काम गर्नुपर्ने बताए। उनले नगरभित्र एउटै उद्देश्यका सेवा क्षेत्रका टुक्रे आयोजनालाई एकीकृत गरी वृहत योजना बनाउनुपर्ने र त्यसमा नगरपालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गरे ।
नगरप्रमुख ढकालले आगामी दिनमा संस्थाले खानेपानी संस्थामात्र नभई सरसफाईलाई पनि जोड्नुपर्ने आवश्यकता औंल्याए। आफू निर्वाचित भएर आएपछि ५५ भन्दा बढी कानुन निर्माण गरिएको बताउँदै उनले नगरपालिकाले खानेपानी ऐन समेत बनाएर खानेपानी, सरसफाई एवं स्वच्छता एकाइ गठन गरी काम गरिरहेको जानकारी दिए।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार
अरु पनि पढ्नुहोस्