
काठमाडौँ — अर्जुननरसिंह केसी ले नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि दैलेख–१ बाट निर्वाचित सांसद बासना थापा लाई अघि सार्न पार्टी पदाधिकारीहरूसँग प्रस्ताव गरेका छन्।
दलको नेतामा सर्वसम्मति खोज्ने उद्देश्यले आफूलाई भेट्न आएका पदाधिकारीहरूसँग केसीले युवा, नयाँ अनुहार, महिला र दुर्गम क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि भएकाले थापालाई नेतृत्व दिनुपर्ने सुझाव दिएको बताएका छन्। साथै, उनले आफू दलको नेताको प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका छन्।
निर्वाचन सकिएको झन्डै दुई महिना बित्न लाग्दा पनि कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा पार्टीभित्र नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका छन्।
केसीका अनुसार, यदि युवामध्येबाटै नेता छान्ने हो भने मुस्ताङबाट दुईपटक निर्वाचित योगेश गौचन थकाली पनि विकल्प हुन सक्छन्। अन्यथा, मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने कुनै सांसदलाई पनि नेतृत्व दिन सकिने उनले बताएका छन्।
यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका स्थगित गरी पुनः सहमतिबाट नेता चयन गर्ने प्रयास सुरु गरिएको छ। केन्द्रीय कार्यसम्पादन समितिले मुख्य दाबेदारहरू भीष्म आङदेम्बे, मोहन आचार्य र केसीमध्ये एक जनालाई सर्वसम्मत रूपमा चयन गर्न उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लाई जिम्मेवारी दिएको छ।
पदाधिकारीहरूका अनुसार, तीनमध्ये एक जनालाई दलको नेता बनाउनेबारे प्रारम्भिक सहमति बनेको छ, जसलाई सोमबार बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेर औपचारिक प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्