२०८३ जेठ २३ , शनिबार

कृत्रिम शेयर मूल्य वृद्धिमा संलग्न भएको आरोपमा शेखर गोल्छा पक्राउ



धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बिहीबार पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान जारी राखेकै बेला प्रहरीले समेत धितोपत्र र बिमासम्बन्धी कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको हो ।

नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गोल्छालाई बिहीबार अपराह्न नक्साल नारायणचौरस्थित गोल्छा अर्गनाइजेसनको कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले वर्जित गरेका धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा उतारचढाव र धितोपत्र बजारलाई प्रभावित पारेको कसुरमा गोल्छामाथि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । आरोपित गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष हुन् ।

गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि बिमा कम्पनीमार्फत धितोपत्र बजारमा शंकास्पद कारोबार गरी सम्पत्ति शुद्धीकरण गराएको कसुरमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ । विभागका अधिकारीहरूका अनुसार यस प्रकरणमा गोल्छासहित शंकर ग्रुपका उपाध्यक्ष तथा सोही समूहअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट तथा उनीहरूकै व्यापारिक साझेदारसमेत रहेका हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा बिमा प्राधिकरण र धितोपत्र बोर्डका तत्कालीन पदाधिकारी एवं कर्मचारीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार
अरु पनि पढ्नुहोस्