
काठमाडौं : नेपाली कांग्रेस ले आफ्ना निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई सात दिने स्पष्टीकरण सोधेको छ। पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार सानेपास्थित बीपी स्मृति भवनमा बसेको बैठकले खड्कासँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो।
अनुशासन समितिका सचिव दिनेश थापामगर का अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूमा नभएको जिम्मेवारी उल्लेख गर्दै अनधिकृत रूपमा वक्तव्य जारी गरेका थिए। उनले मिति २०८२ चैत १४ र ३० गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र विवाद चुलिएको हो।
समितिले यसअघि पनि लेटरप्याडको गलत प्रयोगबारे सचेत गराउने निर्णय गरेको थियो। तर पछिल्ला गतिविधि पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा ८ घ विपरीत देखिएको भन्दै पुनः सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको जनाएको छ।
तर खड्काले भने उक्त निर्णय अस्वीकार गर्दै स्पष्टीकरण नदिने अडान लिएका छन्। उनले “नेतृत्व वैधानिक भएको म मान्दिनँ, त्यसैले स्पष्टीकरण पनि दिन्नँ” भन्ने प्रतिक्रिया दिएका छन्।
पार्टीभित्र क्रियाशील सदस्यता र संगठनात्मक प्रक्रियासम्बन्धी विवाद चुलिँदै जाँदा खड्का असन्तुष्ट पक्षमा देखिएका छन्। सभापति गगन थापा ले क्रियाशील सदस्यता खारेज गरी वडास्तरबाट पुनः अद्यावधिक गर्न निर्देशन दिएपछि खड्काले त्यसमा पनि असहमति जनाएका थिए।
यसअघि चैत १४ मा खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक को पक्राउको विरोधमा कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गरेका थिए।
लगातारका यस्ता गतिविधिपछि पार्टीभित्र आन्तरिक विवाद थप गहिरिँदै गएको छ।
प्रतिक्रिया दिनुहोस्