
सुर्खेत : कर्णालीमा रोजगारी र आम्दानीको अभावले पछिल्लो समय युवाहरू विदेशिन बाध्य छन् । यही चुनौतीकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले प्रदेशको विकासका लागि निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
सुर्खेतमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भए पनि निजी क्षेत्रको अपेक्षित सहभागिता हुन नसकेको उल्लेख गरे।
उनले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई सही रूपमा प्रयोग गर्न सके आर्थिक विकास सम्भव रहेको बताए। “अवसर धेरै छन्, तर ती अवसर पहिचान गरेर लगानी गर्न आवश्यक छ,” उनले भने, “निजी क्षेत्रले जोखिम लिन सके समृद्धि सम्भव छ।”
मुख्यमन्त्री कँडेलले परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार कृषि, जडीबुटी, जलविद्युत र पर्यटन क्षेत्रमा निजी लगानी बढाउन सके कर्णाली आत्मनिर्भर बन्न सक्छ।
सरकार निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै उनले लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। नीतिगत सुधार, पूर्वाधार विकास र लगानीकर्तालाई प्रोत्साहन गर्ने काम भइरहेको समेत उनको भनाइ थियो।
कार्यक्रममा उनले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। “अनुदान पाउँदा मात्रै काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य हुनुपर्छ,” उनले भने, “दीर्घकालीन सोचसहित परियोजना सञ्चालन गर्नुपर्छ।”
मुख्यमन्त्री कँडेलले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको दोहोर्याउँदै कर्णालीलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्