
सुर्खेत : पर्सि बुधवार कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि र पर्सि केही स्थानमा हल्कादेखि मध्यम पानी पर्ने तथा पर्सि बुधवार यी दुई प्रदेशका पहाडी र हिमाली भेगमा ठूलो पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम पानी तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ। चट्याङ र मध्यम पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
भोलि पनि देशभरको मौसमी अवस्था आजजस्तै रहने अनुमान गरिएको छ। भोलि पहाडी र हिमाली क्षेत्रमा बदली रही केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, पर्सि बुधवार भने मौसम आज र भोलिको तुलनामा थप सक्रिय हुने अनुमान गरिएको छ। विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिनभरजसो पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना छ।
पर्सि तराईका केही स्थानमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। यस अवधिमा यात्रा गर्दा, कृषिजन्य गतिविधि सञ्चालन गर्दा तथा दैनिक कामकाज गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्