२०८३ वैशाख ५ , शनिबार

मतदाता नामावली सङ्कलन शुरू



काठमाण्डौ : मतदाता नामावली सङ्कलनको काम आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा सदस्य चुनावका लागि गएको मङ्सिरदेखि नामावली सङ्कलन कार्य स्थगित भएको थियो ।

निर्वाचन आयोगको गएको बुधबारको बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।
आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरणका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाएको बताईएको छ ।

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा त्योभन्दा बढी मतदानस्थल रहेको भए पायक पर्ने ठाउँमा नाम सार्ने, नागरिकता अनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकता अनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार
अरु पनि पढ्नुहोस्