सुर्खेत । सुर्खेतमा शुक्रबार विहानदेखि ठप्प भएको सार्वजनिक यातायात प्रशासनसँगको सहमतीपछि दिउसोदेखि सञ्चालनमा आएका छन् ।
प्रहरीले पक्राउ गरेका यातायात मजदुरहरुलाई निसर्त रिहाई गर्नुपर्ने तथा रातो नम्बर प्लेटका सवारीमा यात्रु बोक्न रोक लगाउनुपर्ने माग गर्दै सुर्खेतस्थित १३ वटा यातायात प्रा.लि.हरूले संयुक्त रूपमा विहानदेखि यातायात बन्द गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा यातायात व्यावसायीहरुसंग भएको छलफलपछि यातायात सेवा व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू गरिएको छ । सहमती पत्रमा सार्वजनिक स्थानमा जथाभावी पार्किङ गर्न नपाइने, यात्रुले तोकिएको काउण्टरबाट मात्र टिकट लिनुपर्ने व्यवस्था मिलाउने, बसपार्क बाहिर यात्रु टिपेर पुनः बसपार्क ल्याउन नपाइने, बसपार्कबाट छुटेपछि सिधै तोकिएको गन्तव्यतर्फ जानुपर्ने, तोकिएको भाडादर अनुसार मात्र भाडा असुल गर्नुपर्ने, टिकट अनिवार्य रूपमा जारी गर्नुपर्ने, सिट संख्या भन्दा बढी यात्रु बोक्न नपाइने, अनुमति प्राप्त सिटमा कुनै हेरफेर गर्न नपाइने, दर्ता भएको प्रयोजन बाहेक सवारी प्रयोग गर्न नपाइने निर्णय उल्लेख गरिएको छ ।
त्यस्तै चैत १९ गते भएको घटनाबारे जिल्ला प्रहरी कार्यालयमा निष्पक्ष छानबिन गरी निष्कर्ष निकाल्ने सहमती भएको छ । रातो नम्बर प्लेटका गाडीहरुलाई अबरोध गरेपछि प्रहरीले बिहीबार ४ जना यातायात मज्दुरहरुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्