२०८३ वैशाख ५ , शनिबार

एमाले कार्यकर्ताको मुक्का प्रहारबाट प्रहरी निरीक्षकको दाँत भाँचियो



सुर्खेत- नेकपा एमालेका कार्यकर्ताद्वारा गरिएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा एक प्रहरी निरीक्षक घाइते भएका छन्।
नेकपा एमाले जिल्ला कार्यालयको संयोजनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सोमबार साँझ करिब ६ बजे वीरेन्द्रनगर नगरपालिका–६ हटिया चोकस्थित पार्टी कार्यालय अगाडिबाट मसाल जुलुस निकालिएको थियो। जुलुस वीरेन्द्र चोकसम्म पुगेर पुनः पार्टी कार्यालय फर्किने क्रममा तनाव उत्पन्न भएको हो।
कार्यक्रमको सुरक्षा व्यवस्थापनमा खटिएका नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन भट्टराईमाथि प्रदर्शनकारीले एक्कासी मुक्का प्रहार गर्दा उनको अगाडिको माथिल्लो दाँत भाँचिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
मुक्का प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा भिड तितरबितर भई भाग्ने क्रममा एक जना प्रदर्शनकारी लडेर टाउकोमा सामान्य चोट लागेको प्रहरीकाे भनाइ छ ।
यता नेकपा एमाले सुर्खेतले भने प्रहरी पार्टी कार्यालयमै प्रवेश गरी धरपकड गरेको बताएकाे  छ। साथै प्रहरीको लाठीचार्जबाट आफ्ना दर्जनौँ कार्यकर्ता घाइते भएको दाबी समेत एमालेले गरेको छ।

घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको र घटनाबारे सूक्ष्म अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्