२०८३ वैशाख ५ , शनिबार
कांग्रेसभित्र आन्तरिक विवाद

कांग्रेसमा शक्ति संघर्ष चर्कियो : खड्काद्वारा जिल्ला सभापति भेला, कारबाहीको बहस तात्यो

कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएपछि पार्टीभित्र शक्ति संघर्ष नयाँ चरणमा


नवराज रोकाय
सुर्खेत : कांग्रेसभित्र आन्तरिक विवाद झन् चर्किने संकेत देखिएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएपछि पार्टीभित्र शक्ति संघर्ष नयाँ चरणमा पुगेको छ।

खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीसँगै विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै चैत १९ गते भेला बोलाएका हुन्।

त्यसअघि उनले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘प्रतिशोधपूर्ण’ भन्दै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए, जसले संस्थापन पक्षलाई असन्तुष्ट बनाएको छ।

खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि बोलाएका छन्। उक्त बैठक दुई दिनसम्म चल्ने बताइएको छ।

बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश सभापतिहरूलाई पनि सहभागी गराइने तयारी गरिएको छ। कोशीका उद्दव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।

यता गगन थापा नेतृत्वको संस्थापन पक्षले भने खड्काको गतिविधिलाई समानान्तर र पार्टी अनुशासन विपरीत भन्दै आलोचना गरिरहेको छ। खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई लिएर कारबाहीको तयारीसमेत अघि बढाइएको छ।

यसबीच कांग्रेस अनुशासन समितिको बैठकसमेत बस्दैछ, जहाँ अन्तरघात, समानान्तर गतिविधि र पार्टी अनुशासनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

उता देउवा–खड्का समूहले पार्टीको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुर्‍याएको छ, जसको सुनुवाइ चैत २२ गतेका लागि तोकिएको छ।

पार्टीभित्र संस्थापन र असन्तुष्ट समूहबीचको टकराव बढ्दै जाँदा कांग्रेसको आन्तरिक राजनीति अझै तरंगित बन्ने देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्