काठमाडौँ ।
स्मार्ट लाइसेन्स छपाइ सम्झौताको म्याद एक महिना मात्र बाँकी रहँदा १२ लाख लाइसेन्स छाप्न चुनौती छ। सुरक्षण मुद्रण केन्द्रले ५ महिनामा जम्मा २८ हजार लाइसेन्स मात्र छापेको छ, जसका कारण सेवाग्राही समस्यामा परेका छन् ।
कच्चा पदार्थको अभाव र खरिद प्रक्रियाका कारण ढिलाइ भएको र अब दैनिक २५ हजारदेखि ५० हजार कार्ड छाप्ने लक्ष्य छ। १२ लाख स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइ गरिसक्नु पर्ने सम्झौताको म्याद अब एक महिनामात्र बाँकी छ । ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रले पाँच महिनामा जम्मा २८ हजार थानमात्र छापेको छ ।
यातायात व्यवस्था विभागकाअनुसार केन्द्रले २८ हजार थान छापेर विभागलाई हस्तान्तरण गरेको छ । कुल करिब २८ लाख लाइसेन्स छाप्न बाँकी छ । समयमै लाइसेन्स छाप्न नसक्दा वर्षौंदेखि ‘ट्रायल पास’ गरेको रसिद खल्तीमा बोकेर हिँड्न बाध्य छन् सेवाग्राही । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आक्रोशित भिडले मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी गर्दा विभागको कार्यालयमा रहेका पुराना लाइसेन्स प्रिन्टरहरू, सर्भर र अन्य प्राविधिक उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भए । विभाग आफैँले लाइसेन्स छाप्ने भौतिक क्षमता गुमाएपछि वैकल्पिक र स्थायी समाधानको रूपमा सुरक्षण मुद्रण केन्द्रलाई छपाइको पूर्ण जिम्मेवारी सुम्पियो ।
सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐनमा सवारी लाइसेन्स केन्द्रले छाप्न पाउने कानुनी व्यवस्था भएपछि विभागले यसको तयारी अघि बढाएको थियो । असारको पहिलो साता नै विभाग र केन्द्रबिच छपाइका लागि प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता भए पनि प्राविधिक तयारी र कच्चा पदार्थको अभावका कारण छपाइ तत्काल सुरु हुन सकेको थिएन । अन्ततः गत कात्तिक १२ गते विभाग र केन्द्रबिच ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने औपचारिक र अन्तिम सम्झौता भएको थियो । यद्यपि पाँच महिनासम्म २८ हजार थानमात्रै छपाइ भएको छ । कच्चा पदार्थको आयात र खरिद प्रक्रियाका कारण छपाइमा ढिलाइ भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्