२०८३ वैशाख ५ , शनिबार

कर्णालीमा एसइईको तयारी : ३८ हजार बढी परिक्षार्थी सहभागी हुँदै



नवराज रोकाय

सुर्खेत : आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ लाई लक्षित गर्दै कर्णाली प्रदेशभर परीक्षा तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष प्रदेशका १० जिल्लाबाट ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।

शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थी परीक्षा दिन लागेका हुन्। प्रदेशभर १६१ परीक्षा केन्द्र तोकिएका छन्, जहाँ परीक्षा सञ्चालनका लागि आवश्यक व्यवस्थापन तीव्र बनाइएको छ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेतमा ९ हजार ७७९ रहेका छन् भने सबैभन्दा कम डोल्पामा ६७४ विद्यार्थी सहभागी हुनेछन्। अन्य जिल्लामा दैलेखमा ६ हजार २५३, जाजरकोटमा ४ हजार ८१३, सल्यानमा ४ हजार १४२, रुकुमपश्चिममा ३ हजार ९२२ र कालिकोटमा ३ हजार ७१७ विद्यार्थी छन्।

यस्तै जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षा केन्द्रको हिसाबले सुर्खेतमा ३४ केन्द्र रहेको छ भने दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ केन्द्र तोकिएका छन्।

निर्देशनालयले परीक्षा शान्त, मर्यादित र व्यवस्थित बनाउन सबै जिल्लामा समन्वयात्मक तयारी गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्