
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ६ की इनिसा विककाे हत्या भएकाे घटनाप्रति विभिन्न महिला संघ–संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
अखिल नेपाल महिला संघ कर्णाली प्रदेश, जिल्ला कमिटी सुर्खेत,वीरेन्द्रनगर नगर कमिटी र जिफन्ट कर्णाली प्देश महिला कमिटीले विहीबार सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै इनिसा वि.क. को हत्याको घटनामा निश्पक्ष छानविन गर्न माग गरेका हुन । उक्त घटनाले समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
फागुन २३ गते बिहान ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर ४ को सामुदायिक वनमा मृत फेला परेकी थिइन।
घटनाको प्रकृति, घटनास्थलको अवस्था तथा शरीरमा देखिएका गम्भीर चोटपटकका आधारमा यो घटना सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
प्रेस विज्ञप्तिमा प्रहरीले केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी भए पनि दोषीलाई कुनै बहानामा उन्मुक्ति नदिन र प्रभाव वा पहुँचका आधारमा अनुसन्धान प्रभावित हुन नदिन राज्य तथा प्रशासनलाई ध्यानाकर्षण गराइएको छ।
महिला तथा बालिकामाथि बढ्दो हिंसाका घटनाले नागरिकको सुरक्षामाथि प्रश्न उठेको उल्लेख गर्दै घटनाको निष्पक्ष, गहिरो र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ।
साथै दोषीलाई कडा कारबाही नभएसम्म पीडितको पक्षमा उभिएर संघर्ष जारी राख्ने प्रतिबद्धता समेत संस्थाहरूले जनाएका छन्। उनीहरुले जिल्ला प्रसाशन कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र पनि बुझाएका छन ।
प्रतिक्रिया दिनुहोस्