सुर्खेत । सुर्खेतमा क्षयरोग (टीबी) नियन्त्रणका लागि उपचारमा रहेका र निको भइसकेका व्यक्तिलाई नै समुदायस्तरमा परिचालन गर्ने तयारी गरिएको छ। यसका लागि कर्णालीका विभिन्न स्थानीय तहमा टीबी क्लब गठन गरी टीबी च्याम्पियनमार्फत समुदायमा सचेतना, बिरामीलाई सहकर्मी सहयोग र उपचारको निरन्तरता प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
बिराट नेपाल मेडिकल ट्रष्टले ग्लोबल फण्ड तथा यूएनडीपीको सहयोग र कर्णाली प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘Strengthening Health Resilience in Nepal: HIV, TB & Malaria’ परियोजनाअन्तर्गत टीबी क्लब गठन तथा परिचालनको योजना बनाइएको हो।
परियोजनाका क्रममा समुदायको अधिकार, लैङ्गिक समानता र क्षयरोग नियन्त्रणमा सामुदायिक सहभागिता बढाउन क्लबलाई साझा मञ्चका रूपमा विकास गर्न खोजिएको छ। क्लबमार्फत क्षयरोग प्रभावित व्यक्ति, निको भएका व्यक्ति, उनीहरूका परिवार, हेरचाहकर्ता र सामुदायिक स्वयंसेवकलाई संगठित गरी उपचारदेखि सामाजिक स्वीकार्यतासम्मका विषयमा काम गर्ने लक्ष्य राखिएको छ।
बिराट नेपाल मेडिकल ट्रष्टका परियोजना प्रबन्धक दिपेन्द्र पाण्डेका अनुसार टीबी क्लब गठन तथा परिचालनलाई आगामी कार्ययोजनामा प्राथमिकता दिइएको छ। बिहीबार र शुक्रबार वीरेन्द्रनगरमा सञ्चालन भएको समुदाय, अधिकार तथा लैङ्गिक समानतासम्बन्धी दुईदिने तालिममा सरोकारवालाबीच क्लबको संरचना, गठन प्रक्रिया, जिम्मेवारी र सञ्चालनका विषयमा विस्तृत छलफल गरिएको उनले बताए।
उनका अनुसार समुदायमा क्षयरोगबारे सचेतना अभिवृद्धि गर्ने, लुकेर रहेका संक्रमितको पहिचान गरी उपचारमा ल्याउने तथा उपचारलाई बीचमै छाड्ने अवस्था कम गर्न टीबी क्लब प्रभावकारी माध्यम बन्न सक्छन्। संक्रमित व्यक्तिमाथि हुने लाञ्छना र विभेद न्यूनीकरण गर्दै उनीहरूलाई समुदायमै सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माण गर्नु पनि क्लबको उद्देश्य हो।
कस्तो हुनेछ टीबी क्लब ?
टीबी क्लबमा क्षयरोगका बिरामी, उपचार पूरा गरी निको भएका व्यक्ति, बिरामीका हेरचाहकर्ता तथा सामुदायिक स्वयंसेवक सदस्य बन्न सक्नेछन्। सदस्यता स्वैच्छिक र निःशुल्क हुनेछ। महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायका व्यक्तिलाई समान अवसर प्रदान गरिने व्यवस्था प्रस्ताव गरिएको छ।
स्थानीय आवश्यकता र सन्दर्भअनुसार क्लबमा ११, १३, १५, १७ वा सोभन्दा बढी सदस्य रहन सक्नेछन्। क्लब सञ्चालनका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यसहितको कार्यसमिति गठन गरिनेछ।
क्लबमा समावेशिता सुनिश्चित गर्न कुल सदस्य संख्याको कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व र कार्यसमितिका पदमा पनि कम्तीमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने प्रस्ताव छ। क्षयरोगका बिरामी, निको भएका व्यक्ति, हेरचाहकर्ता तथा सीमान्तकृत समूहको अर्थपूर्ण प्रतिनिधित्वलाई समेत प्राथमिकता दिइनेछ।
क्लबलाई आवश्यक प्राविधिक सहयोग र मार्गदर्शन प्रदान गर्न स्वास्थ्यकर्मी, राष्ट्रिय क्षयरोग कार्यक्रमका प्रतिनिधि, पालिकास्तरीय टीबी च्याम्पियन, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, शिक्षक तथा सामुदायिक अगुवाहरू सम्मिलित सल्लाहकार समिति पनि गठन गर्न सकिने व्यवस्था छ।
उपचार निरन्तरतादेखि सामाजिक लाञ्छना अन्त्यसम्मको लक्ष्य
टीबी क्लबले प्रत्येक महिना सदस्यबीच आपसी सहयोग तथा सूचना आदानप्रदानका लागि बैठक सञ्चालन गर्नेछ। समुदायस्तरमा क्षयरोगसम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने, बिरामीलाई उपचारमा निरन्तरता दिन प्रोत्साहित गर्ने र स्वास्थ्य संस्थासँग समन्वय गरी उपचार अनुगमनमा सहयोग गर्ने क्लबको मुख्य जिम्मेवारी हुनेछ।
त्यस्तै, क्षयरोगबाट प्रभावित व्यक्तिको नेतृत्व तथा सञ्चार सीप विकास, आयआर्जनसम्बन्धी क्षमता अभिवृद्धि र विश्व क्षयरोग दिवसजस्ता विशेष अवसरमा पैरवी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
क्षयरोगलाई लिएर समाजमा रहेका गलत धारणा, संक्रमणको डर र विभेदपूर्ण व्यवहार न्यूनीकरण गर्न पनि क्लबले काम गर्नेछ। क्षयरोग निको नहुने, संक्रमित व्यक्तिबाट सधैँ रोग सर्ने वा क्षयरोग गरिबी र सीमान्तकृत समुदायसँग मात्र सम्बन्धित हुन्छ भन्ने गलत बुझाइ हटाउन समुदायमा आधारित अभियान सञ्चालन गर्ने योजना छ।
क्लबले स्थानीय स्वास्थ्य संस्था, गैरसरकारी संस्था, स्थानीय तहको स्वास्थ्य शाखा र राष्ट्रिय क्षयरोग कार्यक्रमसँग नियमित समन्वय गर्नेछ। समुदायको प्रतिरोध क्षमता अभिवृद्धि गर्न एचआईभी तथा मलेरिया क्लबहरूसँग पनि संयुक्त कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
दिगोपनाका लागि सरकारी स्वास्थ्य संस्थामै क्लब स्थापना गर्ने योजना
टीबी क्लबको दीर्घकालीन सञ्चालन र सरकारी स्वास्थ्य सेवासँगको समन्वय प्रभावकारी बनाउन क्लबहरू सरकारी स्वास्थ्य संस्थाभित्रै स्थापना गर्ने योजना छ। प्रत्येक कार्यान्वयन जिल्लामा नियमित बिरामी क्लब बैठक स्वास्थ्य संस्थाका टीबी डट्स (DOTS) क्लिनिकमा सञ्चालन गरिनेछ।
क्लबका बैठक मासिक रूपमा वा आवश्यकताअनुसार सञ्चालन गर्न सकिनेछ। बैठक सहजीकरणका लागि टीबी आउटरिच वर्कर (TB ORW) ले सहयोग गर्नेछ। उसले सदस्यहरूको नेतृत्व क्षमता विकास गर्नुका साथै क्लबको भूमिका र जिम्मेवारीबारे अभिमुखीकरण गर्नेछ।
क्लबको दिगोपनाका लागि साना अनुदान, सामुदायिक योगदान तथा विभिन्न साझेदारीमार्फत स्रोत परिचालन गर्ने, पदाधिकारी र सदस्यको क्षमता अभिवृद्धि गर्ने तथा सफलताका कथाहरू अभिलेखीकरण गरी थप सहयोग र साझेदारी जुटाउने योजना पनि छ।
क्लबको प्रभावकारिता मापन गर्न सदस्यता अभिलेख, बैठकका निर्णय, उपचार निरन्तरता, बिरामीको स्वास्थ्य अवस्था र समुदायमा सञ्चालित सचेतना तथा पैरवीका गतिविधिको नियमित अभिलेखीकरण गरिनेछ। परियोजना व्यवस्थापन टोलीलाई प्रगति प्रतिवेदनसमेत उपलब्ध गराइनेछ।
पाँच पालिकाका सरोकारवालाको सहभागितामा तालिम
यसैबीच, क्षयरोग संक्रमित व्यक्तिको पहिचान, उपचारमा पहुँच र समुदायमा विद्यमान लाञ्छना तथा विभेद न्यूनीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरमा दुईदिने तालिम सम्पन्न भएको छ।
बिराट नेपाल मेडिकल ट्रष्टको आयोजना, ग्लोबल फण्ड तथा यूएनडीपीको सहयोग र कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा बिहीबार र शुक्रबार सञ्चालन भएको तालिममा वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाका टीबी फोकल पर्सन, महिला स्वास्थ्य स्वयंसेविका तथा च्याम्पियनहरूको सहभागिता थियो।
तालिममा क्षयरोग रोकथाम, हेरचाह तथा उपचारमा समुदायको अधिकार, क्षयरोगका परिणाममा प्रभाव पार्ने लैङ्गिक असमानता तथा लैङ्गिक हिंसा, भेदभावरहित स्वास्थ्य सेवाका लागि पैरवी र प्रभावित व्यक्ति तथा परिवारलाई परामर्श दिने विषयमा छलफल गरिएको थियो।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना र सक्रियता बढाउनुपर्ने बताए।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य पूरा गर्न तीनै तहका सरकार, साझेदार संस्था र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। संक्रमित व्यक्तिमाथि हुने लाञ्छना र विभेद कम गरी उपचारको पहुँचमा ल्याउन समुदायको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले समाजमा लाञ्छनायुक्त व्यवहारका कारण अझै पनि क्षयरोग संक्रमित व्यक्तिहरू खुलेर उपचारमा आउन नसकेको बताइन्। यसका लागि सबै पक्ष मिलेर जनचेतना फैलाउन आवश्यक रहेको उनले उल्लेख गरिन्।
तालिममा सहभागीहरूले निर्माण गरेको कार्ययोजनाअनुसार आगामी दिनमा समुदाय परिचालन, टीबी क्लब गठन तथा सञ्चालन र क्षयरोग नियन्त्रणसम्बन्धी गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएका छन्।



प्रतिक्रिया दिनुहोस्