सुर्खेत । महिला, युवा तथा अपाङ्गता भएका व्यक्तिको सीप विकास, उद्यमशीलता र रोजगारीका अवसर अभिवृद्धिका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै UPLIFT परियोजनाको त्रैमासिक समीक्षा बैठक सम्पन्न भएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित UPLIFT परियोजनाको आयोजनामा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएको बैठकमा परियोजनाको कार्यप्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । बैठकमा सहभागी सरोकारवालाले लक्षित समुदायलाई आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बनाउन सरकारी निकाय, निजी क्षेत्र, संघसंस्था र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
बैठकमा अपाङ्गता भएका व्यक्ति, महिला तथा युवालाई उद्यमशीलतामा जोड्न नीतिगत व्यवस्था मात्रै पर्याप्त नहुने भन्दै लगानी, व्यावसायिक सीप, बजार पहुँच, वित्तीय सेवा र सरकारी सहयोग सुनिश्चित गर्नुपर्नेमा सहभागीले जोड दिए । व्यवसाय सुरु गर्न सहयोग गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई दिगो बनाउन निरन्तर परामर्श, तालिम र बजारसँगको सम्बन्ध स्थापित गर्नुपर्ने उनीहरूको भनाइ रहेकाे थियो ।
विशेषगरी अपाङ्गता भएका व्यक्तिको रुचि, क्षमता र सीपभन्दा लगानीकर्ताको प्राथमिकताका आधारमा व्यवसाय छनोट हुने प्रवृत्तिमा सुधार गर्नुपर्ने भन्दै स्थानीय बजारको माग र सम्बन्धित व्यक्तिको क्षमताका आधारमा उद्यम छनोट तथा लगानी गर्नुपर्ने उनीहरूको सुझाव थियो । अपाङ्गता भएका व्यक्तिलाई कमजोर र आश्रितका रूपमा हेर्ने पारिवारिक तथा सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने विषय पनि बैठकमा उठाइएको थियो ।
त्यस्तै, युवालाई स्वदेशमै उद्यम तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न विद्यालय तहदेखि नै व्यावसायिक शिक्षा र उद्यमशीलताको सोच विकास गराउनुपर्ने सहभागीको सुझाव थियो । बैठकमा व्यवसाय परामर्श, वित्तीय साक्षरता, बजार सूचना, बिक्री सञ्जाल तथा निजी क्षेत्रसँगको सहकार्य विस्तारका विषयमा समेत छलफल भएको थियो ।
बैठकमा UPLIFT परियोजना संयोजक अम्बिका मगरले परियोजनाको उद्देश्य, कार्यक्षेत्र र सञ्चालन प्रक्रियाबारे जानकारी गराउँदै अपाङ्गता भएका व्यक्ति तथा युवाको सीप विकास, डिजिटल सिकाइ, उद्यमशीलता र रोजगारीका अवसर अभिवृद्धिमा परियोजनाले काम गरिरहेको बताइन् ।
उनका अनुसार सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सन् २०२६ जुलाईदेखि सन् २०२८ डिसेम्बरसम्म ३० महिनाका लागि स्याक नेपालमार्फत परियोजना सञ्चालन भइरहेको छ । परियोजनाले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा १८ देखि २४ वर्ष उमेर समूहका युवालाई लक्षित गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ७, ९, १० र १२ मा सञ्चालन भइरहेको परियोजनाले युवा, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था र सञ्जालसँग समन्वय गर्दै आएको संयोजक मगरले जानकारी दिइन् । सहकारी संस्था, युवा सञ्जाल, अपाङ्गता भएका व्यक्तिहरूका संस्था (ओपीडी), लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र निजी क्षेत्रलाई परियोजनाका प्रमुख सरोकारवालाका रूपमा समेटिएको उनले बताइन् ।
यस्तै बैठकमा स्याक नेपालकी अध्यक्ष मीना कुमारी तिवारी शर्माले हरेक परियोजना निश्चित अवधिका लागि मात्रै सञ्चालन हुने भएकाले त्यसबाट अपेक्षित उपलब्धि हासिल गर्न प्रभावकारी कार्यान्वयन र उद्यमशीलता विकासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइन्। संस्थाले सरोकारवाला निकायसँग सहकार्य र समन्वय गर्दै परियोजनाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले समीक्षा बैठकले परियोजनाको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।




प्रतिक्रिया दिनुहोस्