सुर्खेत । सुर्खेत प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंसिर २ गते राति करिब ११ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन जाँच गर्ने क्रममा चार जनाको साथबाट कुल ९ ग्राम ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ अछामीडाँडाका ३३ वर्षीय प्रकाश सुनार, सोही ठाउँका २६ वर्षीय मनबहादुर बादी, वीरेन्द्रनगर नगरपालिका–१ का १८ वर्षीय सुमन नेपाली र कालिकोटको नरहरिनाथ गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–२ मा बस्दै आएका २० वर्षीय जितु बिष्ट रहेका छन् । प्रहरीले प्रकाश सुनारको साथबाट ३ ग्राम ८२० मिलिग्राम, मनबहादुर बादीको साथबाट १ ग्राम ५७० मिलिग्राम, सुमन नेपालीको साथबाट १ ग्राम १४० मिलिग्राम र जितु बिष्टको साथबाट २ ग्राम ५२० मिलिग्राम लागुऔषध बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी सुब्बाकुना, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र संयुक्त प्रहरी टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनालाई बरामद लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कविन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्