नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै जाँदा पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीको आधिकारिक संरचनाभन्दा अलग्गै संगठनात्मक गतिविधि अघि बढाइरहेको समूहले सातै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
प्रदेशस्तरमा अधिवेशन आयोजना गरेर संगठनात्मक उपस्थिति देखाउने रणनीतिअनुसार देउवा समूहले मंसिर ५ देखि १७ गतेसम्म सातै प्रदेशमा अधिवेशन गर्न लागेको हो। अधिवेशनहरूमा पूर्वसभापति देउवा स्वयं प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।
समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका मुख्यसचिव दीपक कुइकेलका अनुसार सबैभन्दा पहिले गण्डकी प्रदेशमा अधिवेशन हुनेछ। मंसिर ५ गते पोखरामा हुने अधिवेशनपछि मंसिर ७ गते लुम्बिनी प्रदेशको अधिवेशन हुनेछ। लुम्बिनीको अधिवेशन भने बुटवल वा दाङमध्ये कहाँ गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।
त्यस्तै, मंसिर १३ गते कर्णालीकाे सुर्खेतमा, मंसिर १४ गते मधेसकाे जनकपुर , मंसिर १५ गते सुदूरपश्चिमकाे धनगढीमा र मंसिर १७ गते कोसीकाे विराटनगरमा प्रदेशको अधिवेशन गर्ने तय भएको छ। सातै प्रदेशका अधिवेशनमा देउवा आफैँ प्रमुख अतिथि बन्ने व्यवस्थाले समूहले यी कार्यक्रमलाई संगठनात्मक गतिविधिसँगै आफ्नो नेतृत्व र राजनीतिक प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा लिएको देखिन्छ।
कुइकेलले सातै प्रदेशका अधिवेशनको मिति निश्चित भएको र सबै कार्यक्रममा देउवा प्रमुख अतिथि रहने जानकारी दिए। यसअघि समूहले असोज १५ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गरेको थियो। अहिले विभिन्न जिल्लामा अधिवेशन भइरहेका छन्। जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न गरेर मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने समूहको तयारी छ।
कांग्रेसभित्रको विवादका बीच हुन लागेको यो अभ्यासले पार्टीभित्रको शक्ति सन्तुलन र संगठनात्मक वैधताको बहसलाई थप चर्काउने देखिएको छ। समानान्तर महाधिवेशनको तयारीले पार्टीभित्रको विवाद सहमतिबाट समाधान हुनेभन्दा पनि अलग-अलग संगठनात्मक अभ्यासतर्फ अघि बढिरहेको संकेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्