२०८३ वैशाख ५ , शनिबार

कर्णालीका ९० उम्मेदवारको धराैटी जफत, ३६ उमेद्वारले १०० मत कटाएनन

कर्णाली प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए



सुर्खेत ।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा  विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।

प्रदेश निर्वाचन कार्यालय कर्णालीले दिएकाे जानकारी अनुसार प्रदेशभर जम्मा १३८ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९० जनाको जमानत जफत भएको हो । जसअन्तर्गत सुर्खेतका क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर २ मा १७ उम्मेदवार रहेकामा १४ उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, दैलेख क्षेत्र नम्बर ६ जना तथा क्षेत्र नम्बर २ मा सात जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, जाजरकोटका आठ, सल्यानमा १०, रुकुम पश्चिममा नौ, कालीकोटमा छ, जुम्लामा छ, मुगुमा चार, डोल्पामा ६ जना र हुम्लामा चार उम्मेदवारको जमानत जफत भएको छ ।

३६ उम्मेदवारले भने एक सय मत समेत ल्याउन सकेनन् । कर्णाली प्रदेशका दश जिल्लामा  प्रत्यक्ष र समानुपातिकगरी ४३ हजार ५०० मत बदर भएकाे छ ।

प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ । प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ ।

कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थान हासिल गरेको छ । यसैगरी नेकपा एमालेले एक लाख २० हजार ८६३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक लाख सात हजार १०१ मत ल्याएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७ मत ल्याएको छ । नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० मत प्राप्त गरेको छ । कर्णालीबाट श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार हजार ६७५ मत प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्