२०८३ मंसिर ६ , आइतबार

कर्णालीको आर्थिक अवस्था गत बर्षको तुलनामा कमजोर



सुर्खेत । कर्णाली प्रदेशको समग्र आर्थिक अवस्था अघिल्लो आर्थिक वर्षको तुलनामा कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन २०८२÷८३ को वार्षिक प्रतिवेदनअनुसार कृषि, उद्योग र पर्यटन क्षेत्रको गतिविधिमा आएको सुस्ततासँगै प्रदेशको आर्थिक वृद्धिदर उल्लेख्य रूपमा घटेको देखिएको हो ।
प्रतिवेदन अनुसार कर्णालीको आर्थिक वृद्धिदर अघिल्लो वर्षको ४.७४ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वृद्धिदरमा १.८० प्रतिशत बिन्दुको गिरावट आएको हो । यस अवधिमा नेपालको समग्र आर्थिक वृद्धिदर पनि अघिल्लो वर्षको ४.६१ प्रतिशतबाट घटेर ३.८५ प्रतिशतमा झर्ने अनुमान छ । यसले राष्ट्रिय अर्थतन्त्रसँगै कर्णालीको आर्थिक गतिविधिमा समेत सुस्तता आएको देखाउँछ । यद्यपि राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको योगदान भने सामान्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको हिस्सा ४.१९ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२÷८३ मा ४.२० प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा २ खर्ब ५६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
तर अर्थतन्त्रको आकार बढ्दैमा आर्थिक गतिविधि बलियो भएको मान्न सकिने अवस्था छैन । प्रदेशको आर्थिक वृद्धिदर घट्नु, औद्योगिक उत्पादन क्षमताको उपयोग कमजोर हुनु र कृषि तथा पर्यटन क्षेत्रमा गिरावट आउनुले कर्णालीको अर्थतन्त्रमा संरचनागत चुनौती कायमै रहेको देखाएको छ ।
कृषि र उद्योगको अवस्था कमजोर
कर्णालीको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्रको योगदान ३१.५० प्रतिशतबाट सामान्य बढेर ३१.५२ प्रतिशत पुगेको छ । तर कृषि उत्पादनको अवस्था भने सन्तोषजनक छैन । अघिल्लो आर्थिक वर्षमा समग्र कृषि बालीको उत्पादन ५.०१ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८२÷८३ मा पनि ०.४७ प्रतिशतले घटेको छ ।
खाद्य, नगदे तथा अन्य बालीको उत्पादनमा ३.७५ प्रतिशतले वृद्धि भए पनि तरकारी तथा बागवानी उत्पादन ३.७६ प्रतिशत र फलफूल उत्पादन ४.०५ प्रतिशतले घटेको छ । कृषि उत्पादनमा सुधारका लागि सिँचाइ, प्रविधि, उत्पादनको बजारीकरण र लगानी विस्तार चुनौतीका रूपमा देखिएका छन् । औद्योगिक क्षेत्रमा पनि अवस्था थप कमजोर बनेको छ । अघिल्लो आर्थिक वर्षमा नमुना छनोटमा परेका उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत रहेकामा समीक्षा वर्षमा घटेर ३०.९८ प्रतिशतमा झरेको छ । उद्योगको उत्पादन क्षमता उपयोगमा १५.५४ प्रतिशत बिन्दुको गिरावट आएको हो ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान भने ९.५८ प्रतिशतबाट बढेर १०.०७ प्रतिशत पुगेको छ । तर उद्योगको क्षमता उपयोग घट्नुले औद्योगिक क्षेत्रले उपलब्ध उत्पादन क्षमताअनुसार काम गर्न नसकेको देखाउँछ ।
पर्यटक आगमनमा कमी
अघिल्लो आर्थिक वर्षमा कर्णालीमा भित्रिने बाह्य पर्यटकको संख्या १.७२ प्रतिशतले बढेको थियो । तर आर्थिक वर्ष २०८२÷८३ मा पर्यटक आगमन २७.६८ प्रतिशतले घटेको छ । भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशत, चीनबाट आउने ६७.६० प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटक ३९.३९ प्रतिशतले घटेका छन् ।
सेवा क्षेत्रको योगदान भने ५८.९१ प्रतिशतबाट घटेर ५८.४१ प्रतिशतमा पुगेको छ । कर्णालीको अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रले ओगटे पनि पर्यटनमा आएको गिरावटले यस क्षेत्रको आर्थिक गतिविधिमा प्रभाव पारेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार
बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार हुँदै गए पनि कर्जाको ठूलो हिस्सा सेवा क्षेत्रमा केन्द्रित छ । समीक्षा अवधिमा कुल कर्जामध्ये ८५.२१ प्रतिशत सेवा क्षेत्रमा प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ७.२७ प्रतिशत र औद्योगिक क्षेत्रमा ७.२४ प्रतिशत रहेको छ । असार मसान्तसम्म प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४८१ पुगेका छन् । अघिल्लो वर्ष यस्तो संख्या ४७५ थियो । कर्जा–निक्षेप अनुपात भने ६६.५४ प्रतिशतबाट घटेर ६०.१५ प्रतिशतमा झरेको छ ।
समग्रमा कर्णालीको अर्थतन्त्रको आकार र राष्ट्रिय अर्थतन्त्रमा योगदान सामान्य रूपमा बढे पनि आर्थिक वृद्धिदर, कृषि उत्पादन, औद्योगिक क्षमता उपयोग र पर्यटनमा आएको गिरावटले आर्थिक विकासको गति कमजोर बनेको देखिन्छ । जलविद्युत्, जडीबुटी प्रशोधन, कृषि उत्पादनको व्यावसायीकरण, पर्यटन पूर्वाधार र स्थानीय स्रोतमा आधारित उद्योगको विकासमार्फत प्रदेशभित्रै उत्पादन तथा रोजगारी बढाउनु कर्णालीका लागि प्रमुख चुनौती बनेको छ ।
नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले कर्णालीका १० वटै जिल्लाको कृषि, उद्योग, सेवा, पूर्वाधार, रोजगारी तथा वित्तीय क्षेत्रका तथ्याङ्कका आधारमा प्रतिवेदन तयार गरेको हो ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार
अरु पनि पढ्नुहोस्