२०८३ मंसिर ७ , सोमबार

आज कर्णालीसहितका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



सुर्खेत । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज कर्णालीसहित देशका विभिन्न प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शनिबार
अरु पनि पढ्नुहोस्