सुर्खेत । सरकारले छठ पर्वको धार्मिक परम्परालाई मध्यनजर गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै छठ पर्वका अवसरमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आइतबार परेको छठ पर्वको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा दिइएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा छ।
सोही परम्परालाई ध्यानमा राखेर छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरिसकेको थियो।
प्रकाशित मिति : २०८३ कात्तिक २७ गते शुक्रबार


प्रतिक्रिया दिनुहोस्