२०८३ मंसिर ७ , सोमबार

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त



पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मालाई पदबाट बर्खास्त गरेको छ । खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता र प्रक्रियागत त्रुटि गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबारको बैठकले हटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले शर्मालाई पदबाट हटाउने निर्णय भएको पुष्टि गरे । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले निर्णय कार्यान्वयनका लागि पत्र पठाइसकेको छ । शर्माको स्थानमा अर्को व्यवस्था नभएसम्म मन्त्रालयका उपसचिव दीपेन्द्र परियारलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

परिषद्ले पहिलोपटक आयोजना गरेको पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता भएको उजुरीपछि सामाजिक विकास मन्त्रालयका सचिव शेषनारायण पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले पर्याप्त सूचना नदिई पुरस्कार वितरण गरिएको, स्वीकृत कार्यक्रमविपरीत खेलाडीलाई नगद पुरस्कार दिइएको र पदक सिफारिस तथा वितरणमा निर्धारित कार्यविधि पालना नभएको निष्कर्ष निकालेको थियो ।

छानबिन प्रतिवेदनअनुसार पदक सिफारिस उपसमितिका संयोजक केशव पाठकले आफ्नै नाममा पदक र २० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गराएको पाइएको थियो । पदक वितरणका लागि स्पष्ट मापदण्ड नबनाइएको र आर्थिक अनुशासनसमेत उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ ।

शर्माले भने आफूले एकलौटी निर्णय नगरेको दाबी गर्दै आएका छन् । छानबिन समिति नै अवैधानिक रहेको जिकिर गर्दै उनले ९ असोजमा उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । उच्च अदालतले छानबिनसम्बन्धी सक्कल कागजात पेस गर्न आदेश दिँदै दुवै पक्षलाई आगामी २ मंसिरमा छलफलका लागि उपस्थित हुन भनेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले शर्मालाई पदबाट हटाएको हो ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार
अरु पनि पढ्नुहोस्