
सुर्खेत । जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण तथा जलवायु न्याय सुनिश्चित गर्न कर्णालीका युवाहरूले प्रदेश र स्थानीय सरकारसँग नीति निर्माणदेखि बजेट विनियोजन तथा कार्यान्वयनसम्म अर्थपूर्ण सहभागिताको माग गरेका छन्।
‘जलवायु न्याय सबैको अधिकार, सुरक्षित भविष्य हाम्रो आधार’ भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय युवा जलवायु सम्मेलन–२०८३ ले जलवायु न्यायसम्बन्धी घोषणापत्र जारी गर्दै युवाको सहभागिता र नेतृत्व सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले बिरुवामा पानी सिञ्चन गरेर गरेकी थिइन।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले कर्णाली प्रदेश सरकार युवाहरूको साथमा रहेको बताउँदै जलवायु न्याय, वातावरण संरक्षण र प्रदेशको दिगो विकासमा युवाहरूको अर्थपूर्ण भूमिका अपरिहार्य रहेको उल्लेख गरिन । उनले जलवायु परिवर्तनका चुनौती समाधानका लागि युवाहरूलाई सक्रिय सहभागिता, नेतृत्व र खबरदारी गर्नसमेत आह्वान गरिन ।
सम्मेलनबाट जारी घोषणापत्रमा युवाहरूले जलवायु परिवर्तनको असर भोग्ने पक्ष मात्र नभई समाधानका साझेदार, नवप्रवर्तक, अभियन्ता र निर्णय प्रक्रियाका सहयात्री भएको उल्लेख गरेका छन्। घोषणापत्रमा प्रदेश तथा स्थानीय तहका जलवायु, वातावरण, विपद् र विकास योजना निर्माण गर्दा युवा परामर्श अनिवार्य गर्नुपर्ने माग गरिएको छ। त्यस्तै जलवायु तथा विपद्सम्बन्धी समिति, कार्यदल र अनुगमन समितिमा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका प्रतिनिधिसहित कम्तीमा ३३ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ।
युवाहरूले प्रत्येक स्थानीय तहमा युवा जलवायु सञ्जाल र प्रदेशस्तरमा कर्णाली युवा जलवायु परिषद् वा सल्लाहकार समिति गठन गर्नसमेत माग गरेका छन्। घोषणापत्रले जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण, जलवायु उत्थानशील कृषि तथा खाद्य सुरक्षा, युवा नेतृत्वमा हरित रोजगारी र उद्यमशीलता, जलवायु बजेट तथा स्रोत परिचालन र वातावरण संरक्षणलाई प्राथमिकताका विषय बनाएको छ।
कृषि तथा खाद्य सुरक्षातर्फ प्रत्येक जिल्लामा कम्तीमा एउटा सामुदायिक बीउ बैंक स्थापना, वर्षाको पानी सङ्कलन, पोखरी तथा कुलो मर्मत र साना किसानका लागि बाली तथा पशु बीमामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। त्यसैगरी नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन, दिगो पर्यटन र जडीबुटी प्रशोधनमा युवा उद्यमशीलता प्रवर्द्धन गर्न तथा हरित उद्यम सुरु गर्ने युवालाई बीउ पुँजी, सहुलियतपूर्ण कर्जा र सीपमूलक तालिम उपलब्ध गराउन घोषणापत्रमार्फत आग्रह गरिएको छ।
जलवायु बजेटलाई पारदर्शी र जवाफदेही बनाउन प्रदेश तथा स्थानीय तहको बजेटमा जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र हरित रोजगारीका लागि छुट्टै शीर्षक र पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उल्लेख छ। जलवायु बजेटको रकम, कार्यक्रम, स्थान र लाभग्राहीको विवरण सार्वजनिक गर्न तथा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइमा युवाको भूमिका सुनिश्चित गर्नसमेत माग गरिएको छ।
वातावरण संरक्षणतर्फ पानीका मुहान र सिमसार क्षेत्रको नक्साङ्कन तथा संरक्षण, वन डढेलो नियन्त्रणका लागि युवा प्रतिक्रिया समूह गठन, स्थानीय प्रजातिका बिरुवाको वृक्षरोपण र प्लास्टिक तथा ठोस फोहोर व्यवस्थापनका लागि स्थानीय तहले नीति तथा पूर्वाधार निर्माण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।
सम्मेलनमा सहभागी युवा प्रतिनिधिहरूले घोषणापत्रमा समेटिएका माग तथा प्रतिबद्धता कार्यान्वयनका लागि प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । जलवायु न्यायका लागि साझा आवाज र सुरक्षित भविष्यका लागि युवा सहभागितालाई मूल सन्देश बनाएको सम्मेलनले कर्णालीमा जलवायु अनुकूलन, वातावरण संरक्षण र दिगो विकासका सवालमा युवा नेतृत्व स्थापित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्