
काठमाण्डाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै आइजिपी कार्कीले सुरक्षा निकायहरूबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन्।
उनकाअनुसार छिटपुट विवादहरू बाहेक मुलुकभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ।
उनले भने, ‘यो मतदान हुने दिनसम्म आइपुग्नको लागि हामीले नेपालभरका सबै ठाउँमा सुरक्षाको पूर्वतयारी स्वरूप सबै सुरक्षा निकायहरूका बीचमा एकीकृत सुरक्षा योजना बनाएर एकीकृत भएका थियौँ। यो आजको दिन आइपुग्नको लागि आजभन्दा अगाडि अपनाइएका रणनीतिहरूले काम गरेका छन्। आज देशभरका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।
आइजिपी कार्कीले जेनजी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भए पनि सीमित स्रोत–साधनका बाबजुद पनि मुलुकको सुरक्षामा नेपाली सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गरे।
उनले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानूनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको सुनाए।
सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि मान्दै व्यक्तिगत सुविधा र इन्द्रियसुख त्यागेर कर्तव्य निर्वाह गरेकै कारण घोषित मितिमै शान्तिपूर्ण ढंगले निर्वाचन सम्भव भएको समेत बताए ।
उनले कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारी साधनबीच समेत सुरक्षाकर्मीहरूले पर्याप्त स्रोत–साधन र उपकरण बिना नै सडकमा खटिएर जिम्मेवारी पूरा गरेको बताए।
उनले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताए। –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्