
सुर्खेत ।
प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचन आचारसंहिता र बालअधिकार संरक्षणसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजव) र बाल अधिकारका लागि साझा अभियान (सिसिआर) कर्णालीको संयुक्त आयोजनामा मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो । “बालबालिका राष्ट्रिय गौरव हुन्” र “विद्यालय तथा बालबालिका शान्ति क्षेत्र हुन्” भन्ने नारासहित आयोजित कार्यक्रममा निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न र विद्यालयलाई राजनीतिक गतिविधिबाट टाढा राख्न सरोकारवालाहरूले जोड दिएका छन्।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दाराम चौलागाईले निर्वाचन आचारसंहिताले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको बताए । उनले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह गरे ।
अधिवक्ता केशव आचार्यले बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिँदै निर्वाचनका बेला बालअधिकार उल्लंघन हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
बाल अधिकार परिषद्का समन्वय अधिकृत डम्मर रोकायले बालमैत्री वातावरण निर्माण गर्नु राज्य र समाजको साझा दायित्व भएको उल्लेख गरे ।
मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका मानबहादुर कार्कीले बालअधिकार मानव अधिकारकै अभिन्न अंग भएको बताउँदै सम्भावित उल्लंघनप्रति आयोग सचेत रहेको जानकारी दिए ।
कार्यक्रममा सि.सि.आर. कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्य तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान कर्णाली प्रदेशका अध्यक्ष तेज सोनामले बालमैत्री र शान्तिपूर्ण निर्वाचन वातावरण निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न परिवेच्छक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्