२०८३ भदौ २६ , शुक्रबार

सुर्खेतमा कोेशेली गृह सञ्चालन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा




सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रैथाने उत्पादनहरुको बिक्रि वितरणका लागि कोशेली गृह सञ्चालन गरिएको छ ।
कर्णाली प्रदेश सरकारको एक करोड २४ लाखको लगानीमा निर्माण गरिएको कोशेली गृह शुक्रबारदेखि सञ्चालनमा आएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतको मातहतमा रहेको उक्त कोशेली गृह वीरेन्द्रनगरको मुख्य बजार वडा नम्बर ६ हटियालाईनमा रहेको छ । निर्देशनालयका कार्यालय प्रमूख मुकुन्दनाथ योगीका अनुसार कोशी गृहको भवन निर्माण २०७९ साल कात्तिकमा नै सम्पन्न भएको थियो । सञ्चालन कार्यविधि बनाउन तथा सञ्चालनको आवश्यक प्रक्रिया पूरा गर्नका लागि केही समय ढिलाइ भएको योगीले बताए । तीन तले भवन मध्य हाल पहिलो तलामा मात्र भाडामा लगाइएको छ । जसबाट बार्षिक ६ लाख २५ हजार सरकारलाइ आम्दानी हुने योगीले बताए । दोश्रो तलामा व्यवसाय सुरु गर्न केही दिनमा भाडामा लगाउने प्रक्रियामा रहेको पनि कार्यालय प्रमुख योगीले जानकारी दिए ।

उक्त गृहमा अहिले पाँच प्रकारका व्यवसाय सञ्चालनमा रहेका छन् । यहाँ कर्णालीका कच्चा पर्दाथबाट निर्मित काष्ठकलाका सामाग्रीहरु, जडिवुटी, स्थानीय कपडा, खाद्यान्नका उद्योग सञ्चालनमा छन् । औधोगिक, पर्यटन, कर्णालीको पहिचान देश विदेशमा बढाउन, श्रम प्रविधिको प्रयोग गरी रोजगारी सिर्जना गर्न यो गृहले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको योगीको भनाइ छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव राम प्रसाद जैसीले कोशेली गृहको प्रबद्र्धनका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । संभव हुने वस्तुहरुमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने नीति बनाउनुपर्ने महासचिव जैसीको भनाइ छ । कर्णालीलाई नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन सक्ने वस्तुहरुको विक्री वितरण हुने भएकाले कोशेली गृहको थप विकास विस्तारमा सरकारी र नीजि क्षेत्रको साथ आवश्यक रहेको उद्यमी कृष्ण प्रसाद ढकालले बताए ।
कोशेली गृहको उद्घाटन गर्दै उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री कल्याणी खड्काले उद्यमीको उत्पादनलाई प्रवर्धन गर्न कोसेलीघरले सहयोग पुग्ने बताइन । यसको संरक्षण र प्रवर्धन गर्नका लागि सरकारले योजना निर्माण गरेको उनले बताइन ।
कोशेली गृहमा स्थानीय उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामान सुपथ मूल्यमा बिक्रीवितरण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार
अरु पनि पढ्नुहोस्