२०८३ वैशाख ५ , शनिबार

नियोकद्वारा कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण सम्पन्न



सुर्खेत । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) ले कर्णाली प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज सुर्खेतमा सम्पन्न गरेको छ।

आगामी निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन पर्यवेक्षकहरूको भूमिका सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा निर्वाचन आचारसंहिता, पर्यवेक्षणका मापदण्ड, प्रतिवेदन लेखन प्रक्रिया तथा निर्वाचन अवधिमा अपनाउनुपर्ने आचरणका विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरूले निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि प्रभावकारी पर्यवेक्षण आवश्यक रहेको बताएका थिए।

नियोकका केन्द्रिय समितिका उपाध्यक्ष देविकानन्द तिमिल्सेनाले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन स्वतन्त्र र निष्पक्ष पर्यवेक्षण अपरिहार्य रहेको उल्लेख गरे। साथै, निर्वाचन प्रक्रियामा देखिन सक्ने सम्भावित चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो। केन्द्रिय सदस्य सुरेश कुमार गौतमले आवधिक निर्वाचन लाेकतन्त्रका लागि महत्वपूर्ण रहेकाे भन्दै स्वच्छ निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जाेड दिए ।

कार्यक्रम कर्णाली प्रदेश समितिका अध्यक्ष विन्दुलाल रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार
अरु पनि पढ्नुहोस्