सुर्खेत । निर्वाचन आयोगले ताेकेकाे आचारसंहिता अनुसार उमेद्वारका लागि प्रचार प्रसारकाे समय आज राती १२ बजेपछि अर्थात भाेली फागुन ४ गतेदेखि सुरु हुँदैछ ।
आयाेगले यस पटक १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ । आयोगले फागुन १८ गतेसम्म निर्वाचन आचारसंहिताको पालना गर्दै दल र उम्मेदवारहरुलाई प्रचार–प्रसारका लागि समय निर्धारण गरेको हो ।
फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ । आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
उमेद्वारहरुले १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउने छन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनै पनि किसिमका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।
राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ । नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको आयोगले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्