सुर्खेत: कर्णाली प्रदेश सरकारले आज पाँचाैं मुख्यमन्त्री पाउने भएकाे छ । साउन ९ गते शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश सरकार विहिन अवस्थामा रहेकाेमा आज प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको हो। नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही आज प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुने तयारीमा छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा २०बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आज साँझ ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।
सत्ता साझेदारीको सहमतिअनुसार कर्णाली प्रदेशको नेतृत्व नेकपाले पाउने भएपछि शाही मुख्यमन्त्री बन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो। शाही शीर्ष नेतृत्वसँग छलफलका लागि काठमाडौँ पुगेका थिए भने मंगलबार बिहान सुर्खेत फर्किएका छन्। यता एमाले संसदीय दलका नेता यामलाल कँडेल पनि केन्द्रसँग परामर्श गरेर प्रदेश फर्किएका छन्।
दाबी पेस गर्नुअघि सत्ता साझेदार दलका नेताबीच आवश्यक छलफल र समन्वय हुने तयारी भएकाे छ। यद्यपि समाचार तयार पार्दासम्म प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी औपचारिक रूपमा दर्ता भइसकेको छैन।
मङ्गलबहादुर शाही नियुक्त भएसँगै कर्णाली प्रदेशले पाँचौँ मुख्यमन्त्री पाउनेछ भने प्रदेश सरकार नयाँ नेतृत्वसहित अगाडि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्