२०८३ साउन १२ , मंगलबार

सुर्खेतमा एलपी ग्यासकाे चरम अभाव, उपभोक्ता सास्तीमा



सुर्खेत : सुर्खेतको विरेन्द्रनगरमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभाब भएसंगै स्थानीयहरु रातिदेखि नै खाली सिलिन्डर बोकेर डिलरमा लाइन बस्न बाध्य भएका छन्।

ग्यास सहजरूपमा उपलब्ध नहुँदा अधिकांश परिवारको दैनिक जीवन प्रभावित भएको छ। सहरी क्षेत्रमा दाउरा, गुइँठाजस्ता वैकल्पिक इन्धन सहज रूपमा उपलब्ध नभएकाले एलपी ग्यासमा निर्भर परिवारहरू बढी समस्यामा परेका छन्। विशेषगरी  विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहज अवस्थाका नागरिकले ग्यास अभावका कारण थप कठिनाइ भोगिरहेका छन्।

यता नेपाल आयल निगम सुर्खेतका अनुसार साउन १ देखि ११ गतेसम्म वीरेन्द्रनगर क्षेत्रमा करिब २१ हजार ५ सय ८१ एलपी ग्यास सिलिन्डर वितरण गरिएको जनाएको छ। सामान्यतया मासिक २६ हजार सिलिन्डर वितरण हुने भए पनि छोटो अवधिमै अत्यधिक माग देखिएकाले बजारमा असन्तुलन सिर्जना भएको  छ।

निगमले सुर्खेतमा ग्यासको वास्तविक अभाव नभई केही अनधिकृत बिक्रेता वा व्यक्तिले ग्यास सङ्कलन गरी भण्डारण गरेको हुन सक्ने आशङ्का व्यक्त गरेको छ। उता  जिल्ला प्रशासन कार्यालय सुर्खेतले प्रहरीको निगरानीमा ग्यास वितरण भइरहेको जनाउँदै  ग्यास अभावको वास्तविक कारण पत्ता लगाउन अध्ययन भइरहेको र सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन आवश्यक समन्वय भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
अरु पनि पढ्नुहोस्