२०८३ साउन ८ , शुक्रबार

लेकबेसीमा ‘सुचारुपना सम्मेलन–२०८३’ सम्पन्न

खानेपानी योजनाको दिगोपनामा जोड, उत्कृष्ट उपभोक्ता समिति पुरस्कृत



सुर्खेत, ८ साउन ।
गत वर्षको सुचारुपना सम्मेलन–२०८२ मा गरिएका प्रतिबद्धताहरू कार्यान्वयन गर्दै लेकबेसी नगरपालिकाले खानेपानी तथा सरसफाइ क्षेत्रलाई थप व्यवस्थित बनाउन कानुन निर्माण, मर्मत–सम्भारका लागि बजेट व्यवस्थापन, नियमित अनुगमन र योजनाको दिगोपनालाई प्राथमिकतामा राखेको जनाएको छ ।
“सुचारुपनाका लागि साझेदारी, दिगोपनाका लागि जवाफदेहिता” भन्ने मूल नारासहित लेकबेसी नगरपालिका–४, दशरथपुरमा शुक्रबार आयोजित ‘सुचारुपना सम्मेलन–२०८३’ मा गत वर्षका प्रतिबद्धताको समीक्षा गर्दै आगामी कार्ययोजना तय गरिएको हो । सम्मेलनको सहजीकरण सुन्दर नेपाल संस्था, सुर्खेत ले गरेको थियो भने हेल्भेटास नेपाल को सहयोग रहेको थियो ।
सम्मेलनका प्रमुख वक्ता नगर प्रमुख उमेरकुमार पौडेलले गत वर्ष गरिएको प्रतिबद्धताअनुसार २०८३ चैतभित्र नगरपालिकाका सबै घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार गरी लेकबेसीलाई ‘पानीयुक्त नगरपालिका’ घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । लक्ष्य हासिल गर्न नयाँ खानेपानी योजना निर्माण, पुराना योजनाको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासलाई तीव्रता दिइएको उनले बताए । खानेपानी योजनाको दिगोपना स्थानीय सरकारको मात्र नभई उपभोक्ता समिति, समुदाय र सरोकारवाला सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।
नगर उपप्रमुख विमला खड्लुक मगरले पहिलो सम्मेलनमा गरिएको अर्को महत्वपूर्ण प्रतिबद्धता अनुसार खानेपानी तथा सरसफाइसम्बन्धी कानुन निर्माण गर्ने कार्य पूरा भई चालु आर्थिक वर्षको नगरसभाबाट कानुन पारित भइसकेको जानकारी दिइन् । कानुनले खानेपानी तथा सरसफाइ सेवामा सुशासन, उत्तरदायित्व र दीगो व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार शर्माले योजनाको दीर्घकालीन सञ्चालनलाई केन्द्रमा राख्दै चालु आर्थिक वर्षमा मर्मत–सम्भारका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । नगरपालिकाको वास इकाइ प्रमुख इन्जिनियर महेश काफ्लेले केही नयाँ खानेपानी योजना निर्माण भइरहेको जानकारी दिँदै उनले हेलो धारा परियोजनासँगको सहकार्यमा ‘हेलो मोनिटरिङ’ प्रणालीमार्फत टेलिफोनबाट योजनाहरू नियमित सञ्चालनमा छन् वा छैनन् भन्ने निरन्तर अनुगमन गरिँदै आएको बताए । यसले समस्या पहिचान, समयमै मर्मत तथा सेवा प्रवाहको निरन्तरतामा उल्लेखनीय सहयोग पुगेको उनको भनाइ थियो ।
सम्मेलनमा आयोजित प्यानल छलफलमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का केन्द्रीय सदस्य कविन्द्रकुमार केसीले योजना निर्माणपछि त्यसको मर्मत–सम्भार र नियमित अनुगमनमा सरकार तथा सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा जोड दिए । निर्माण सम्पन्न भएपछि उपभोक्ता समितिको जिम्मेवारी अझ बढ्ने उल्लेख गर्दै उनले ठूला मर्मत, लिफ्टिङ योजनाको विद्युत् महसुलमा सहुलियत तथा प्रोत्साहनका व्यवस्था लागत अनुमानमै समावेश गरिनुपर्ने धारणा राखे ।
हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले स्थानीय तहले वार्षिक बजेटमै मर्मत–सम्भार कोषका लागि निश्चित रकम विनियोजन गर्ने कानुनी व्यवस्था गर्न सके खानेपानी योजनाको सुचारुपना र दिगोपनामा सहयोग पुग्ने बताए । योजना निर्माणपछि पनि नियमित अनुगमन, मूल्यांकन र मर्मतलाई निरन्तरता दिनुपर्ने निष्कर्षका आधारमा हेल्भेटासले कार्यरत चार वटा स्थानीय तहमा हेलो धारा परियोजना सञ्चालन गरिरहेको उनले जानकारी दिए । अब आयोजना निर्माणसँगै त्यसको निर्माणपछिको व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
संघीय खानेपानी कार्यालय सुर्खेतका इन्जिनियर सुरेन्द्र शर्माले योजना निर्माणपछि त्यसको नियमित सञ्चालन र संरक्षणमा उपभोक्ता समितिको प्रमुख भूमिका रहने बताए भने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका इन्जिनियर काशीराम ऐडीले आगामी दिनमा योजना निर्माणसँगै दिगोपनालाई लक्षित कार्यक्रमहरू अघि बढाइने जानकारी दिए ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अक्कलबहादुर शाहले खानेपानी योजनाको सुचारुपना र दिगोपना सुनिश्चित गर्न स्थानीय सरकार, उपभोक्ता समिति, प्राविधिक निकाय तथा विकास साझेदारबीच सहकार्य र साझा जवाफदेहिता विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।
घोषणापत्र कार्यान्वयनलाई निरन्तरता, उत्कृष्ट उपभोक्ता समिति सम्मानित
“सुचारुपना सम्मेलन २०८२ ले पारित गरेका घोषणाका बुँदाहरुलाई निरन्तर कार्यान्वयन गर्दै ल्ध्ब्क्ज् ःक्ष्क् को तथ्यांकमा गरिएको योजनाको वडा तहबाट अध्यावधिक गरिने सूची तयार गरे बमोजिम पुन अध्यावधिक गरी वास्तविक तथ्यांक तयार गर्ने, १९ औँ नगरसभाबाट पारित खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सबै कानुनहरुको कार्यान्वयन गर्ने, गराउने र खानेपानी स्रोतको संरक्षणका लागि परम्परागत अनुभवमा आधारित अभ्यासलाई मूर्त रुपमा योजना बनाई जलवायू उत्थानशिल कार्यक्रम कार्यान्वयन गर्ने, गराउने निर्णय गरिएको छ ।

NWASH MIS का तथ्याङ्क वडा तहबाट अद्यावधिक गरी वास्तविक विवरण तयार गर्ने, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी संकल्पहरू कार्यान्वयन गर्ने तथा जलवायु उत्थानशील योजना तयार गरी खानेपानी स्रोत संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सम्मेलनको अवसरमा खानेपानी योजनाको सुचारुपना तथा दिगोपनामा उत्कृष्ट कार्य गरेका तीन वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई नगदसहित सम्मान गरिएको छ । मूल्याङ्कनका आधारमा लेकबेसी नगरपालिका–१० को साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति प्रथम हुँदै रु. ५० हजार, वडा नं. २ को पुरानो गाउँ सोलार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति द्वितीय हुँदै रु. ४० हजार तथा वडा नं. ८ को नारजले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तृतीय हुँदै रु. ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
सम्मेलनले खानेपानी योजना निर्माणसँगै त्यसको नियमित सञ्चालन, मर्मत–सम्भार, अनुगमन र दीगो व्यवस्थापनलाई समान महत्व दिनुपर्ने साथै स्थानीय सरकार, उपभोक्ता समिति र विकास साझेदारबीचको साझेदारीलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
अरु पनि पढ्नुहोस्