२०८३ साउन ७ , बिहीबार

वृक्षारोपण गर्दै एमाले सुर्खेतले मनायो पुष्पलालको ४८औँ स्मृति दिवस



 

सुर्खेत : नेकपा एमाले जिल्ला कमिटी, सुर्खेतले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस मनाएको छ । वीरेन्द्रनगर–४ स्थित सहिद पार्कमा फूल तथा विभिन्न प्रजातिका बिरुवा रोप्दै पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

 कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सचिव यामलाल कँडेलले पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्दै राजनीतिक र सामाजिक रूपान्तरणको स्पष्ट दिशा दिएको बताए । मुख्यमन्त्री कँडेलले पुष्पलालले देखाएको आर्थिक र सामाजिक न्यायको बाटोमै हिँडेर मात्र कर्णालीको गरिबी र पछौटेपन अन्त्य गर्न सकिने बताए ।

उनले भाषण र नाराले मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली नहुने उल्लेख गर्दै उनका विचार र आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। पछिल्लो समय युवापुस्तामा बढ्दो असन्तुष्टिलाई संवाद, सहभागिता र सकारात्मक राजनीतिक अभ्यासमार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले पार्टीका नेता तथा कार्यकर्तालाई अझ एकताबद्ध, अनुशासित र जिम्मेवार बन्न आग्रह गर्दै पुष्पलालले देखाएको समाजवाद उन्मुख व्यवस्थाको लक्ष्य साकार पार्न जुट्नुपर्ने बताए ।

वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनि प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन । यस्तै पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा कर्णालीका विभिन्न जिल्लामा पनि वृक्षारोपण, विचार गोष्ठी तथा श्रद्धाञ्जली कार्यक्रम आयोजनागरी उनको योगदानको स्मरण गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्