२०८३ साउन ६ , बुधबार

सुर्खेतमा फोर्स गाडी दुर्घटना, १९ जना घाइते, तीनको अवस्था गम्भीर



  

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी आज बिहान करिब ११ः४५ बजे अनियन्त्रित भई गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। इलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी मेहेलकुनाबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार घाइतेमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वली, गुर्भाकोट–१३ की ममता पुनका ५ वर्षीय छोरा रियाज शाही तथा तनहुँ घर बताउने ३९ वर्षीया भावना राई को अवस्था गम्भीर रहेको छ। उनीहरूको  कर्णाली प्रदेश अस्पताल, कर्णाली केयर अस्पताल र माया मेडिकल हल, सुर्खेतमा उपचार भइरहेको छ।

अन्य १६ जना घाइतेको पनि मेहेलकुना अस्पताल, माया मेडिकल हल तथा कर्णाली केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अधिकांशको टाउको, हात, खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।

घाइतेहरूको नामावली:

गणेश वली (४०), सिम्ता–९ — गम्भीर
ममता पुन (२३), गुर्भाकोट–१३
रियाज शाही (५), गुर्भाकोट–१३ — गम्भीर
विष्णुमाया सुनार (४५), सिम्ता–९
प्रविन सुनार (१०), सिम्ता–९
भावना राई (३९), तनहुँ — गम्भीर
प्रज्वल राई (२), भावना राईका छोरा
जैसरा बुढा (३२), गुर्भाकोट–१४
भूमिसरा खड्का (६०), गुर्भाकोट–१४
उदयराम भुजेल (४२)
धनमाया भुजेल (४५)
टिका खत्री (३२), सिम्ता–९
भीमबहादुर थापा (६०), सिम्ता–९
तुलसरा सुनार (५५), सिम्ता–९
सक्षम बुढा (१२), गुर्भाकोट–१४
प्रीति गुरुङ (१५), गुर्भाकोट–१२
शान्ता खत्री (३०), सिम्ता–९
भावना आले (१७), गुर्भाकोट–१४
मनिषा थापा (३०), सिम्ता–९


दुर्घटनामा संलग्न चालक गगन थापा लाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार
अरु पनि पढ्नुहोस्