२०८३ साउन ६ , बुधबार

दैलेखमा रहस्यमय घटनामा आमा–छोराको मृत्यु, सर्पदंशको आशंका



दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९, खाडामा एकैघरका आमा–छोराको रहस्यमय मृत्यु भएको छ। साउन ३ गते राति २७ वर्षकी  कमला रावल र उनका ९ वर्षका छोरा आयुश रावल आफ्नै घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर सुतेका थिए।
बिहान उठ्दा दुवैको शरीर झमझमाउने, रिंगटा लाग्ने तथा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि स्थानीय शाही मेडिकल, साङ्गेतारा लगिएको थियो। उपचारका लागि लैजादै गर्दा आयुश रावलको साउन ४ गते बिहान बाटोमै मृत्यु भएको मेडिकलले जनाएको छ।
आमा कमला रावललाई जिल्ला अस्पताल दैलेखमा सामान्य उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत रिफर गरिएको थियो। चिकित्सकहरूले प्रारम्भिक रूपमा सर्पदंशसँग मिल्दोजुल्दो लक्षण देखिएको अनुमान गरेका थिए।
साउन ४ गते घटनाभएको सूचनापाए पछि प्रहरी चौकी जम्बुकाँध, प्रहरी चौकी पालतडा तथा इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी घटनास्थल पुग्दा बालकको शव परिवारले दाहसंस्कार गरिसकेको प्रहरीले जनाएको छ।
यता उपचारकै क्रममा भेन्टिलेटरमा रहेकी कमला रावलको पनि साउन ६ गते बिहान कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेकोे प्रहरीको भनाई रहको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार
अरु पनि पढ्नुहोस्