२०८३ साउन ६ , बुधबार

कोरियामा ७ हजार २ सय जना नेपाली कामदारको माग



युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन आह्वान गरेको छ। नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्रअनुसार यसपटक ७ हजार २ सय जना नेपाली कामदारको माग आएको हो। मागमध्ये उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।
भाषा परीक्षाका लागि आवेदन २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसोबास गरी फर्काइएको नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको तथा कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएपछि दोस्रो चरणको परीक्षा सञ्चालन गरिनेछ। परीक्षा शुल्क २८ अमेरिकी डलर निर्धारण गरिएको छ। अन्तिम परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले दुई वर्षसम्म वैध रहनेछ। यद्यपि, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुनु भने होइन भन्ने कुरा ईपीएस कोरिया शाखाले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार
अरु पनि पढ्नुहोस्