२०८३ साउन ६ , बुधबार

मधेशले जातिगत राजनीति छोड्यो, पहाडमा पार्टीगत राजनीति भएन : सभापति लामिछाने



काठमाडौँ  : सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले लिने निर्णयले जनतालाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताएका छन् । सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पछि नहट्ने सभापति लामिछानेको भनाइ थियो ।

रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई शुक्रबार रास्वपामा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमामा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताएका हुन् ।

सरकारले किसान, मजदुर, सर्वसाधारण जनताको पक्षमा काम गर्ने सभापति लामिछानेको भनाइ थियो । सरकारको नियतमा कुनै पनि शंका छैन । निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छन् । त्यसमा करेक्सन गर्न सकिन्छ । नियत खराब भयो भने कहाँ करेक्सन गर्ने, नियत करेक्सन गर्न गाह्रो हुन्छ ।

सरकारले गरेका केही निर्णय कालान्तरमा परिवर्तन गर्नुपर्ने र केही निर्णय प्रभावको आधारमा तत्काल परिवर्तन गर्नुपर्ने अवस्था पनि आउने सभापति लामिछानेको भनाइ थियो । सरकारले जनता जोगाउनका लागि गरेका निर्णयको स्वागत गरिएको पनि सभापति लामिछानेको भनाइ थियो । विगतका सरकारका पालामा भएका भए पनि त्यस्ता निर्णयलाई कार्यान्वयनमा जोड दिइएको उनको भनाइ थियो ।

पार्टीका सांसदहरूले आफ्ना एजेन्डा सम्बन्धित मन्त्रालयमार्फत अगाडि बढाउनुपर्ने र ती काम हुनुपर्ने पनि सभापति लामिछानेको भनाइ थियो । त्यस्तै, रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभाको २०८२ को निर्वाचनमा पहाडका मतदाताले पुराना पार्टीलाई छोडेको र मधेशका मतदाताले जातीय राजनीतिलाई छोडेको बताए । यसपटक हामीले के भन्ने गर्‍या छौं भने पहाडले पार्टी छोड्यो, मधेशले जाति छोड्यो, जातिगत राजनीति भएन, पहाडमा पनि पार्टीगत राजनीति भएन, उनले भने ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार
अरु पनि पढ्नुहोस्