२०८३ साउन ६ , बुधबार

सिम्तामा ‘खानेपानी सुचारुपना सम्मेलन’ सम्पन्न, ९ बुँदे घोषणा–पत्र जारी




सिम्ता, सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकामा खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जवाफदेहिता अभिवृद्धिका लागि आयोजित “सुचारुपना सम्मेलन २०८३“ ९ बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।
“दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुख एवं कर्मचारीहरू, सरोकारवाला प्रदेश कार्यालयका प्रमुख÷प्रतिनिधिहरू, सक्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुखहरू तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गाउँपालिकाको आयोजना सुन्दर नेपाल संस्थाको सहजिकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा असार ३२ र साउन १ गते दुई दिनसम्म चलेको सम्मेलनले गाउँपालिकाको खानेपानी क्षेत्र सुधारका लागि महत्वपूर्ण प्रतिवद्धताहरू समेटिएको घोषणा–पत्र सार्वजनिक गरेको हो ।
घोषणा–पत्रमार्फत गाउँपालिकाले एन वास प्रणालीसहित आफ्नो क्षेत्रभित्रको खानेपानी सेवा स्तरको तथ्याङ्कलाई तत्काल अध्यावधिक गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । खानेपानी योजनाहरूको सुचारुपनाका लागि नियमित अनुगमन तथा मर्मत सम्भारका साथै खानेपानी, सरसफाइ तथा स्वच्छता इकाई सञ्चालन व्यवस्थापन सम्बन्धी आवश्यक कानून बनाई कार्यान्वयनमा ल्याइने प्रतिबद्धता पनि घोषणा–पत्रमा गरिएको छ । साथै, गाउँपालिकामा हाल सञ्चालनमा रहेका सम्पूर्ण सक्रिय खानेपानी तथा सरसफाइ योजनाहरूलाई गाउँपालिकामा अनिवार्य रूपमा दर्ता एवं आबद्ध गराउन विशेष अभियान नै चलाइनेछ । उपभोक्ता समितिहरूलाई आर्थिक रूपमा सबल बनाउन उपभोक्ताबाट संकलन गरिएको पानी महसुलको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रूपमा मर्मत सम्भार कोषमा जम्मा गर्ने प्रावधानलाई कडाइका साथ नियमन गरिने बताइएको छ ।


यसैगरी, उपभोक्ता समितिको जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्नका लागि अबदेखि प्रत्येक समितिले अर्धवार्षिक रूपमा गाउँपालिकामा प्रगति प्रतिवेदन बुझाउनुपर्ने र एक आर्थिक वर्षभित्र अनिवार्य रूपमा सार्बजनिक लेखापरीक्षण गराई वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ, जसको सहजीकरण र नियमन गाउँपालिकाले गर्नेछ । राम्रो काम गर्ने उपभोक्ता समितिहरूलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाभित्र सक्रिय रही ९० प्रतिशत भन्दा बढी सुचारुपना कायम राख्न सफल उत्कृष्ट खानेपानी उपभोक्ता समितिहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्ने अभ्यासलाई निरन्तरता दिइने घोषणा–पत्रमा उल्लेख छ ।

गाउँपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई सुरक्षित र व्यवस्थित खानेपानी सुविधा उपलब्ध गराउने दीर्घकालीन योजना अन्तर्गत विद्यमान योजनाहरूलाई चुस्त दुरुस्त बनाउँदै अति आवश्यक बस्ती र टोलहरूमा नयाँ योजनाहरू निर्माण गर्ने नीति लिएको छ । जलवायु परिवर्तन र विभिन्न भौतिक विकास निर्माणका कार्यहरूले पानीका स्रोतहरूमा पार्ने नकारात्मक असरलाई न्यूनीकरण गर्दै पानीका मुहानहरूको संरक्षण र संवद्र्धनमा विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत घोषणा–पत्रमार्फत व्यक्त गरिएको छ ।
सम्मेलनको पहिलो दिन पालिका अन्तर्गत ९ वटै वडाका खानेपानी उपभोक्ता समितिका प्रतिनिधिले योजनाको समग्र अवस्था, चुनौती र आवश्यकताबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो दिन खानेपानी योजनाहरुको अवस्था, सुचारुपना एवं दिगोपनाका चुनौती र समाधानका लागि भावी योजनाका विषयमा सरोकारवालाहरुबीच छलफल गरिएको छ ।
एन वास एम आइ एसको तथ्यांक अनुसार सिम्तामा निर्माण भएका करिब ७५ प्रतिशत खानेपानी योजनाको सुचारुपना (सञ्चालन अवस्था) राम्रो रहेको छ भने १८ प्रतिशत योजना मात्रै पूर्ण रुपमा सञ्चालित र दिगो अवस्थामा रहेको पाइएको छ । सिम्ता गाउँपालिकामा ११९ वटा खानेपानी योजना एनवासमा उल्लेख छन । जसबाट ४ हजार ४४७ धारा वितरण गरिएको छ र ती धाराबाट ५ हजार ८७० घरधुरीलाई खानेपानी सुविधा पुगेको उक्त तथ्यांकले देखाउछ । जनगणना २०७८ को जनगणना अनुसार ६ हजार ६२ घरधुरी रहेको सिम्ता गाउँपालिकामा उक्त तथ्यांकले ९७ प्रतिशत घरधुरीलाई खानेपानी सुविधा पुगेको देखिएको छ । एनवासको उक्त तथ्यांकमा केही दोहोरोपना रहेको भन्दै अध्यावधिक गर्ने प्रतिबद्धता गरिएको छ ।
छलफलका क्रममा कतिपय योजनाहरुमा मुहान दर्ता गर्नुपर्ने, मर्मत संभार कार्यकर्तालाई तालिम दिनुपर्ने, मुहान संरक्षण गर्नुपर्ने, प्राकृतिक प्रकोप बाढी पहिरोबाट पाइपलाइन लगायत खानेपानी योजनालाई सुरक्षित गर्नुपर्ने विषय उठेको छ । यस्तै केही योजनाका समितिहरुको नियमित बैठक साधारणसभा र मर्मत संभार कोष निर्माण गर्नुपर्ने पनि औँल्याइएको छ ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले साझेदारहरुसंघको सहकार्यले सबै सिम्ताबासीहरुमा सुरक्षित खानेपानीको पहुँच पु¥याउने लक्ष्य नजिक नजिक पुगेको बताए । उनले खानेपानी योजनालाई राम्रोसँग सञ्चालन तथा दिगोपनाका लागि पनि उपभोक्ता, वडा, पालिका र साझेदार संघ संस्था सबैको पक्षको सहकार्य आवश्यक रहेको बताए । खानेपानी योजनाको दिगोपनाका लागि आवश्यक नीतिगत र कार्यान्वयन पक्षलाई आगामी दिनमा प्रमुख प्राथमिकताका साथ अघि बढाउने पनि उनले प्रतिबद्धता जनाए । गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले हाल योजना निर्माण सम्पन्न कार्यको मात्रै अनुगमन गर्ने गरिएकोमा आगामी दिनमा खानेपानी योजनाको नियमित अनुगमन गर्ने नीति लिइने बताइन । सिम्ता गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) का केन्द्रीय सदस्य कविन्द्र कुमार केसीले खानेपानी योजनाको दिगोपनाका लागि कतिपय योजनामा निर्माण पश्चात पनि सहयोग गर्न आवश्यक हुने औँल्याए । विशेषगरी धेरै घरधुरीलाई सुविधा दिइरहेका लिफ्टिङ्ग योजनाहरुमा विधुत महशुल, मर्मत संभार लगायतका स्थानीय सरकारले निरन्तर सहयोग गर्नुपर्ने केसीले बताए । हेल्भेटास नेपाल कर्णाली प्रदेश कार्यालयका टिम लिडर मदनराज भट्टले खानेपानी योजनाको सुचारुपना र दिगोपनाका निरन्तर अनुगमन, रेखदेख र मर्मत संभारलाई ध्यान दिन उत्तिकै आवश्यक हुने बताए । स्थानीय सरकारको साझेदारीमा खानेपानी योजना निर्माणपश्चात ती योजनाहरुको दिगोपनाका लागि निरन्तर अनुगमन मूल्यांकनका लागि स्थानीय पालिकाको सहकार्यमा हेलो धारा सह परियोजना सञ्चालन गरिएको भट्टले जानकारी दिए ।

उत्कृष्ट तीन समिति पुरस्कृत


सम्मेलनका क्रममा गाउँपालिकामा रहेका खानेपानी योजनाका उपभोक्ता समितिहरुमध्यबाट उत्कृष्ट तीन समितिलाई पुरस्कृत पनि गरिएको छ । सानो जलुके खानेपानी तथा सरसफाई योजना वडा ६, द्वितीय घोरेटा खानेपानी तथा सरसफाई योजना वडा नं.१ र तृतीय राकम बृहत लिफ्ट खानेपानी तथा सरसफाई योजना । सुचारुपना र दिगोपनाका सुचकहरुका आधारमा मूल्यांकन गरिएको थियो । प्रथमलाई ५० हजार द्वितीय ४० हजार र तृतीयलाई ३० हजार रुपैँया प्रदान गरिएको छ ।
हेल्भेटास नेपालका संस्थागत विकास तथा सुशासन विज्ञ अक्कल बहादुर शाहले निर्माण भइसकेका खानेपानी योजनालाई राम्रोसँग सञ्चालन गरी दिगो रुपमा खानेपानी समस्या समाधान गर्न सरोकारवालाहरुको जवाफदेहिता अभिबृद्धि गर्ने उधेश्यले सम्मेलन आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार
अरु पनि पढ्नुहोस्