२०८३ साउन ६ , बुधबार

सिम्ता गाउँपालिकामा खानेपानी योजनाको सुचारुपना सम्मेलन सुरु



नवराज रोकाय

सिम्ता । सुर्खेतको सिम्ता गाउँपालिकामा खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना सम्मेलन सुरु भएको छ । गाउँपालिकाको आयोजना, सुन्दर नेपाल संस्थाको सहजीकरण तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दुई दिने सम्मेलन बिहीबारदेखि सुरु भएको हो ।

शुक्रबारसम्म सञ्चानल हुने सम्मेलनको पहिलो दिन पालिकाका ९ वटै वडाका खानेपानी उपभोक्ता समितिका अध्यक्ष एबम प्रतिनिधिले योजनाको समग्र अवस्था, चुनौती र आवश्यकताबारे प्रतिवेदन प्रस्तुत गरेका छन । प्रस्तुत प्रतिवेदन अनुसार सिम्तामा निर्माण भएका करिब ७५ प्रतिशत खानेपानी योजनाको सुचारुपना (सञ्चालन अवस्था) राम्रो रहेको छ भने १८ प्रतिशत योजना मात्रै पूर्ण रुपमा सञ्चालित र दिगो अवस्थामा रहेको पाइएको छ । एन वास एम आइ एसको तथ्यांक अनुसार सिम्ता गाउँपालिकामा ११९ वटा खानेपानी योजना छन । जसबाट ४ हजार ४४७ धारा वितरण गरिएको छ र ती धाराबाट ५ हजार ८७० घरधुरीलाई खानेपानी सुविधा पुगेको उक्त तथ्यांकले देखाउछ । जनगणना २०७८ को जनगणना अनुसार ६ हजार ६२ घरधुरी रहेको सिम्ता गाउँपालिकामा उक्त तथ्यांकले ९७ प्रतिशत घरधुरीलाई खानेपानी सुविधा पुगेको देखिएको छ । सम्मेलनका क्रममा सहभागीहरुले भने एनवासके उक्त तथ्यांकमा केही दोहोरोपना रहेको भन्दै अध्यावधिक गर्न आवश्यक रहेको अँल्याएका छन ।

यस्तै वडागत प्रस्तुतीका आधारमा कतिपय योजनाहरुमा मुहान दर्ता गर्नुपर्ने मर्मत संभार कार्यकर्तालाई तालिम दिनुपर्ने  मुहान संरक्षण गर्नुपर्ने प्राकृतिक प्रकोप बाढी पहिरोबाट पाइपलाइन लगायत खानेपानी योजनालाई सुरक्षित गर्नुपर्ने अवस्था देखिएको छ । केही योजनाका समितिहरुको नियमित बैठक साधारणसभा र मर्मत संभार कोष निर्माण गर्नुपर्ने पनि आल्याइएको छ ।

हेल्भेटास नेपालका संस्थागत विकास तथा सुशासन विज्ञ अक्कल बहादुर शाहले निर्माण भइसकेका खानेपानी योजनालाइ राम्रोसँग सञ्चालन गरी दिगो रुपमा खानेपानी समस्या समाधान गर्न सरोकारवालाहरुको जवाफदेहिता अभिबृद्धि गर्नु सम्मेलन आयोजना गर्नुको मुख्य उधेश्य रहेको बताए । उनले योजना थप्नुभन्दा हाल सञ्चालनमा रहेका योजनाको दिगोपनमा ध्यान दिनुपर्ने बताए ।

यस्तै गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले पालिकाले लिएको लक्ष्य अनुरुप साझेदार संस्थाको सहयोगमा  ‘एक घर, एक धारा’ को लक्ष्य नजिक पुगेको बताए । उनले खानेपानीलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै योजनाको दिगोपनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

हेल्भेटास नेपालले स्थानीय संस्थाको सहजिकरणमा सिम्तामा सन् २०१९ देखि खानेपानी योजनामा सहयोग गर्दै आएको छ । विगत सात बर्षमा सिम्ता गाउँपालिकाको खानेपानी क्षेत्रमा १७ करोड ७० लाख रुपैयाँ लगानी भएको छ । जसमध्ये ५४ प्रतिशत हेल्भेटास नेपालको, २० प्रतिशत गाउँपालिकाको र बाँकी उपभोक्ताको रहेको छ । हेल्भेटासको सहयोगमा विगत दुई बर्षयता सुर्खेत र दैलेखका चार वटा पालिकामा खानेपानी योजनाको सुचारुपना र दिगोपनाका लागि हेल्लो धारा परियोजना पनि सञ्चालन गरिएको छ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरुबीच खुला संवाद  कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार
अरु पनि पढ्नुहोस्