सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। सरकारलाई दिएको समर्थन भने यथावत् राख्दै उनीहरूले मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन्।
मुख्यमन्त्री यामलाल कडेल नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारमा कांग्रेसका तर्फबाट सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा तथा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह सहभागी थिए। चारै जनाले बुधबार मुख्यमन्त्री कडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनुअघि मुख्यमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। तर कांग्रेसका मन्त्रीहरू बैठकमा सहभागी नभई सिधै मुख्यमन्त्रीलाई राजीनामा बुझाएर बाहिरिएका थिए।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार कांग्रेसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। उनले बदलिएको राजनीतिक परिस्थितिअनुसार मार्ग प्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिइएको स्पष्ट पारे।
सरकारबाट बाहिरिए पनि कांग्रेसले समर्थन कायम राखेकाले कर्णाली सरकार तत्काल अल्पमतमा नपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्