काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट कुल २१ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
२० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीका आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । प्रस्तावित लाभांश र हकप्रद शेयर आगामी वार्षिक साधारण सभाबाट पारित गर्न विद्युत नियमन आयोगबाट अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको यस कम्पनीको अदर इक्वीटीमा १२ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम कायम छ । कम्पनीले गत वर्ष भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्