काठमाण्डौँ । पछिल्लो समय सुनको मूल्य अत्यधिक बढ्दै गर्दा सुन धितोमा कर्जा लिने पनि बढेका छन् । गत आवको ६ महिनाको अवधिमा यस्तो कर्जा विस्तार १४.२ प्रतिशतले बढेको थियो । गत २०८१ असारमा सुन धितोमा ६० अर्ब ७८ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा २०८१ पुससम्ममा ६९ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो ।
गत आवको तुलनामा चालु आवको पुससम्ममा सुनको मूल्य १ लाख २२ हजार २ सय रुपैयाँले बढेको छ । २०८१ पुस २९ मा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ थियो । २०८२ पुस अन्तिममा भने २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो । छोटो अवधिमै सुनको मूल्यमा तीव्र वृद्धि भएसँगै धितो राखेर कर्जा लिनेको संख्या पनि बढ्दै गएको हो ।
यसअघि २०७९ पुसमा सुनचाँदी धितोमा ५४ अर्ब ९५ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो, जुन २०७९ असारमा प्रवाह भएको सुनचाँदी धितो कर्जाको तुलनामा ३.२ प्रतिशत मात्रै बढी थियो । २०७९ असारमा सुनचाँदी धितो कर्जा ५३ अर्ब २७ करोड रुपैयाँ विस्तार भएको थियो ।
त्यस्तै, २०८० असारमा ७० अर्ब ७६ करोड रुपैयाँ सुनचाँदी धितो कर्जा विस्तार भएकोमा सोही वर्षको पुससम्ममा २१.४ प्रतिशतले घटेर ५५ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो । केही दिन अघिमात्रै एनआईसी एशिया बैंकले ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । सुन तथा सुनका गहना धितोमा राखेर प्रवाह गरिने यो कर्जा योजनामा बैंकले न्यूनतम १ देखि अधिकतम ३ प्रतिशतसम्मको प्रिमियम दरमा कर्जा दिनेछ ।
बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । सोही कारण बैंकमार्फत ग्राहकले सुनचाँदी धितोमा सो बराबरको रकमसम्म मात्रै कर्जा लिन सक्नेछन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा पनि बढिरहेको छ । यस साता भने सुनको मूल्यमा उतारचढाव आएको छ । तैपनि विगतको तुलनामा सुनको मूल्यमा बढोत्तरी हुँदै जाँदा बैंकहरूले सुन किन्नका लागि कर्जा दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्