
सुर्खेत : निर्णायक तहमा महिलाको प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता अभिबृद्धिका लागि महिला राजनीतिकर्मी र आम सञ्चार माध्यमबीच सहकार्य अपरिहार्य रहेको सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
मिडिया एड्भोकेसी ग्रुप म्यागले शुक्रमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको महिला राजनीतिकर्मी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राजनीतिमा महिलाले भोगिरहेका संरचनागत, सामाजिक तथा सांस्कृतिक चुनौतीबारे अनुभव आदानप्रदान गरेका हुन् ।
सहभागी महिला राजनीतिकर्मीहरूले राजनीतिक यात्राका क्रममा परिवार, समाज र पार्टी संरचनाभित्र विभिन्न प्रकारका अवरोध सामना गर्नुपरेको अनुभव सुनाए । उनीहरूले महिलाको भूमिका र योगदानलाई प्रभावकारी रूपमा स्थापित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै महिला नेतृत्व तथा लैंगिक मुद्दासम्बन्धी विषयवस्तुलाई मिडियाले प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कार्यक्रमा सञ्चारकर्मीहरूले पनि महिला राजनीतिकर्मीहरूसँग सूचना संकलन तथा समाचार सम्पादन–प्रकाशनका क्रममा देखिने व्यावहारिक चुनौतीबारे चर्चा गरेका थिए । उनीहरूले सूचना प्रवाहलाई समयानुकूल, व्यवस्थित र सहज बनाउन राजनीतिक दलका महिला नेतृत्वको सक्रियता आवश्यक रहेको सुझाव दिए ।
कार्यक्रमके सहजीकरण गर्दै बरिष्ठ पत्रकार गुणराज लुइटेलले सञ्चार माध्यमले महिला नेतृत्वको पक्षमा सकरात्मक विभेदको सिद्धान्त प्रयोग गर्नुपर्ने बताए । उनले मिडियामा आफ्ना कुराहरु राख्नका लागि महिला राजनीतिकर्मीहरु स्वंय पनि उत्तिकै तत्पर हुन आवश्यक रहेको पनि उनले आँल्याए ।
म्यागका कार्यकारी निर्देशक बरिष्ठ पत्रकार बविता वस्नेतले महिलाको राजनीतिक सहभागिता, सञ्चार क्षेत्रमा उनीहरूको भूमिका तथा दुवै क्षेत्रले भोगिरहेका साझा चुनौतीबारे यस्ता कार्यक्रम मार्फत खुलेर छलफल हुँदा आगामी दिनमा सहकार्यका नयाँ सम्भावना सिर्जना हुने विश्वास व्यक्त गरिन । पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले स्थानीय स्तरका महिला राजनीतिकर्मीहरुलाई अग्रसर बनाउका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा स्मरण गर्दै आगामी दिनमा थप ध्यान दिइने बताए ।
प्रतिक्रिया दिनुहोस्