२०८३ जेठ २२ , शुक्रबार

वीरेन्द्रनगरले जित्यो प्रथम मेयर कपको उपाधि



सुर्खेत : आयोजक वीरेन्द्रनगर नगरपालिकाले प्रथम कर्णाली प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ। बिहीबार कर्णाली प्रदेश रङ्गशालामा भएको फाइनलमा जुम्लालाई १–० ले पराजित गर्दै वीरेन्द्रनगर पहिलो संस्करणको च्याम्पियन बनेको हो।

वीरेन्द्रनगरको जितमा विक्रम ओलीले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको पाँचौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा सुरुआती गोल नै उपाधि जित्न पर्याप्त बन्यो।

खेलको पहिलो हाफदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए। जुम्लाले बराबरी गोलका लागि निरन्तर दबाब सिर्जना गरे पनि वीरेन्द्रनगरको रक्षापङ्क्ति र गोलरक्षक मजबुत देखिए। दोस्रो हाफमा जुम्लाले थप आक्रमण बुन्दै खेलाडी परिवर्तन गरेको थियो भने वीरेन्द्रनगरले अग्रता जोगाउने रणनीति अपनाएको थियो।

फाइनलमा निर्णायक गोल गरेका वीरेन्द्रनगरका विक्रम ओली ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ जुम्लाका धर्मेन्द्र कुँवार ‘बेस्ट प्लेयर’ चुनिए। वीरेन्द्रनगरका सब बुढामगर शाही ‘बेस्ट किपर’ घोषित हुँदा पञ्चपुरीका दिवस विक ‘बेस्ट डिफेन्डर’ बने। सिम्ताका तुसार आग्री ‘इमर्जिङ प्लेयर’ घोषित भए भने पञ्चपुरीका धनसिंह विक ७ गोलसहित प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने।

विजेता टोलीका प्रशिक्षक गणेश खड्का ‘बेस्ट कोच’ घोषित भएको म्याच कमिसनर रूपचन्द्र बिष्टले जानकारी दिए।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार
अरु पनि पढ्नुहोस्