२०८३ जेठ २२ , शुक्रबार

वंश विनासको २५ वर्ष, जसको सत्य खोज्ने वाचा धेरै भए, तर रहस्य अझै बाँकी



नवराज रोकाय
सुर्खेत : आजभन्दा ठीक २५ वर्षअघि एउटा यस्तो घटना घट्यो जो अहिलेपनी रहस्यमय बनेको छ । २०५८ साल जेठ १९ गतेकाे त्यो रात नारायणहिटी दरबारमा भएको घटना, जसले देशको राजनीतिक, सामाजिक र ऐतिहासिक यात्रालाई सधैंका लागि परिवर्तन गरिदियो । त्यो घटना थियो—राजदरबार हत्याकाण्ड ।
तत्कालिन राजा वीरेन्द्र विर विक्रम शाह दरबारको रात्रिकालिन भोजमा आफ्ना परिवारका सदस्यहरूसँग सरिक थिए। भोजको सुरुवाती समयमा सबै कुरा सामान्य देखिन्थ्यो। तर केही घण्टापछि दरबारभित्र गोलीका आवाज गुञ्जिए र नेपालको इतिहासले अप्रत्याशित मोड लियो ।
घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका अधिकांश सदस्यको मृत्यु भयो । घटनाभएको केही दिनपछि युवराज दीपेन्द्रको पनि मृत्यु भएको खबर बाहिरआयो ।
सोहि समय घटनाको अनुसन्धानको लागी सरकारी छानबिन समिती समेत गठन भयो । तर छानविन समितीले युवराज दीपेन्द्रलाई घटनाको मुख्य जिम्मेवार ठहर र्गयो।
घटनापछि राजा वीरेन्द्रका कान्छाभाइ ज्ञानेन्द्र सिंहासनमा आए। त्यतिबेला देश माओवादी द्वन्द्वको चपेटामा थियो। दरबार हत्याकाण्डले राजसंस्थाप्रतिको जनविश्वासमा ठूलो धक्का पुर्यायो। त्यसपछिका वर्षहरूमा नेपालको राजनीति झन् अस्थिर बन्दै गयो। राजा ज्ञानेन्द्र र राजनीतिक दलबीचको दूरी बढ्दै गयो। २०६१ सालमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिए। त्यसविरुद्ध जनआन्दोलन चर्कियो। अन्ततः २०६२/०६३ को जनआन्दोलनपछि राजतन्त्र कमजोर बन्दै गयो र २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो शाह वंशीय राजसंस्थाको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।
गणतन्त्र स्थापनापछि पहिलो प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डको पुनः अनुसन्धान गरिने घोषणा गरेसंगै धेरैले सोचेका थिए—अब राजसंस्थाको प्रभाव समाप्त भइसकेकाले दरबार हत्याकाण्डबारे निष्पक्ष अनुसन्धान हुनेछ। पूर्व प्रधानमन्त्री प्रचण्ड ले विभिन्न समयमा दरबार हत्याकाण्डको वास्तविक योजनाकारबारे नेपाली जनता जानकार रहेको अभिव्यक्ति दिएका थिए।
तर देशमा सरकार फेरिए, प्रधानमन्त्री बदलिए, राजनीतिक गठबन्धनहरू बने र भत्किए, तर दरबार हत्याकाण्डको नयाँ अनुसन्धान भने कहिल्यै अघि बढ्न सकेन ।
समय बित्यो। पुस्ता फेरिए। शासन फेरियो। राजतन्त्र समाप्त भयो। गणतन्त्र स्थापना भयो। तर नारायणहिटी दरबारको त्यो रक्तरञ्जित रातबारे उठेका प्रश्नहरू अझै बाँकी छन्।
सायद यही कारणले जेठ १९ नेपाली इतिहासको एउटा दुःखद घटना मात्र होइन, एउटा जीवित रहस्य बनेर उभिएको छ। त्यसैले, नेपाली इतिहासमा जेठ १९ लाई आज पनि कालो दिनका रूपमा सम्झिने गरिन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार
अरु पनि पढ्नुहोस्