२०८३ कात्तिक १९ , बुधबार

को–को हुन् डोल्पामा सुरुङ खनेर कारागारबाट भाग्नेहरू



जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर भागेका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारमा शुक्रबार राति सुरुङ खनेर कैदीहरू फरार भएका थिए ।

फरार हुनेमा रुकुम पश्चिमको आठविस्कोट नगरपालिका– १० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका– ५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका– १ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी– ४ का २८ वर्षीय धन बुढा भन्ने हरी बहादुर बुढा छन् । उनीहरू सबै जबर्जस्ती करणी मुद्धामा कैद सजाय भोगिरहेका थिए ।

यस्तै, जाजरकोटको नलगाड नगरपालिका– ९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठविस्कोट नगरपालिका– ५ का ३८ वर्षीय तिलक भण्डारी र रुकुम पश्चिमको आठविस्कोट नगरपालिका– ३ का ३२ वर्षीय आदेश भण्डारी फरार छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षको लागि थुनुवामा थिए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरू ४।६३ मिटर लामो सुरुङ खनेर कारागारबाट भागेका हुन् । फरार कैदीको खोजी सुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार
अरु पनि पढ्नुहोस्