२०८३ कात्तिक १९ , बुधबार

युवा उद्यमीलाई डिजिटल सचेतना तथा मार्केटिङ सीपसम्बन्धी तालिम




युवाहरूमा डिजिटल सचेतना अभिवृद्धि गर्दै उद्यमशीलता विकास तथा बजार प्रवर्द्धनसम्बन्धी सीप सुदृढ गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा  डिजिटल सचेतना तथा मार्केटिङ सीपसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित अप्लिफ्ट परियोजना अन्तर्गत कात्तिक १२ देखि १४ गते २०८३ (२९–३१ अक्टोबर २०२६) सम्म तालिम सञ्चालन गरिएको हो। तालिममा वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ७, ९, १० र १२ का २५ जना युवा उद्यमी सहभागी भएका थिए ।
तालिममा सहभागीहरूलाई डिजिटल सचेतना, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन, डिजिटल माध्यमबाट ग्राहकसँग सम्बन्ध विस्तार गर्ने तरिका तथा प्रभावकारी मार्केटिङ रणनीतिबारे जानकारी प्रदान गरिएको थियो। साथै, डिजिटल प्लेटफर्म प्रयोग गरी आफ्ना उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने, ग्राहकसम्म पहुँच विस्तार गर्ने तथा व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो।
तालिमको समापन कार्यक्रममा बोल्दै स्याक नेपालकी अध्यक्ष मीना कुमारी तिवारी शर्माले डिजिटल युगमा व्यवसायको सफलताका लागि प्रविधिमैत्री सोच र डिजिटल सीप अपरिहार्य रहेको बताइन । उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै आफ्नो उद्यम तथा व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र सफल बनाउनुपर्नेमा जोड दिइन ।
डिजिटल प्रविधि र प्रभावकारी मार्केटिङको प्रयोगले व्यवसायको प्रचारप्रसार, ग्राहकसँगको सम्बन्ध विस्तार तथा बजार पहुँच वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ,” उनले भनिन, तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके युवा उद्यमीहरूले आफ्नो व्यवसायलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न सक्नेछन्।
त्यस्तै, तालिममा सहभागी युवा उद्यमीहरूले डिजिटल माध्यमको उपयोग, अनलाइन प्रचारप्रसार तथा ग्राहकसँग प्रभावकारी रूपमा जोडिने तरिकाबारे नयाँ ज्ञान हासिल गरेको बताएका छन्। सहभागीहरूको भनाइमा तालिमले डिजिटल प्लेटफर्ममार्फत आफ्ना उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने, नयाँ ग्राहकसम्म पुग्ने, बजार विस्तार गर्ने तथा व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण ज्ञान र सीप प्रदान गरेको छ।
परियोजनाका अनुसार तालिमबाट हासिल भएका ज्ञान र सीपले युवा उद्यमीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै उद्यमशीलता विकास, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। तालिमपश्चात सहभागीहरूले आफ्ना व्यवसायमा डिजिटल उपकरण तथा मार्केटिङ सीपको प्रयोग गर्दै व्यवसाय विस्तार र बजार प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अप्लिफ्ट परियोजना अन्तर्गत सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले युवाहरूको उद्यमशील क्षमता विकास गर्दै उनीहरूलाई आत्मनिर्भर तथा प्रतिस्पर्धी व्यवसायीका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको समाज जागरण केन्द्र (स्याक) नेपालका अनुगमन, मूल्याङ्कन, जवाफदेहिता तथा सिकाइ संयोजक गगन खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार
अरु पनि पढ्नुहोस्