सिम्ता । सुर्खेतको सिम्ता गाउँपालिकामा सञ्चालित बजार क्षेत्र सरसफाइ अभियानको दोस्रो दिन वडा नम्बर ६ राकमस्थित पुल बजार क्षेत्रमा सरसफाइ गरिएको छ।
सुशासन प्रवर्द्धनका लागि युवा (वाईजीजीपी) को अगुवाइमा सञ्चालित हाम्रो सहर परियोजनाअन्तर्गत गाउँपालिका, वडा कार्यालय, उद्योग वाणिज्य संघ, प्रहरी तथा स्थानीय टोल विकास संस्थाको सहकार्यमा अभियान सञ्चालन गरिएको हो।
शुक्रबार आयोजित सरसफाइ कार्यक्रममा पुल बजार टोल विकास संस्था, इलाका प्रहरी कार्यालय बादेपीपल, वडा कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
सरसफाइ अभियानले बजार क्षेत्रलाई स्वच्छ र सफा राख्नुका साथै स्थानीयवासीमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने वडा नम्बर ६ का अध्यक्ष गुलाव सिंह ठकुरीले बताए ।

वातावरणीय सरसफाइ र स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको वाईजीजीपीका कार्यकारी निर्देशक घनश्याम केसीले बताए । उनले अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

अभियानअन्तर्गत सिम्ता गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा हरेक हप्ता नियमित सरसफाइ गरिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्