२०८३ जेठ २२ , शुक्रबार

कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप सुरु, उद्घाटन खेलबाट वीरेन्द्रनगरको बिजयी सुरुवात




सुर्खेत । कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उद्घाटन खेलमा आयोजक वीरेन्द्रनगर नगरपालिकाले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सुरु भएको खेलमा वीरेन्द्रनगरले हुम्ला सिमकोट गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

घरेलु टोली वीरेन्द्रनगरले खेल सुरु भएको पहिलो मिनेटमै अग्रता बनाएको थियो । टोलीका स्ट्राइकर भरत नागले सुरुवाती गोल गर्दै दर्शकमाझ उत्साह थपेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको वीरेन्द्रनगरले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्‍यो ।

खेलको ६७औँ मिनेटमा बैकल्पिक खेलाडी निर्मल चौधरीले गोल गर्दै वीरेन्द्रनगरको अग्रता दोब्बर बनाए । त्यसपछि दबाबमा परेको हुम्ला सिमकोटले पुनरागमन प्रयास गर्दै ८२औँ मिनेटमा अनिश परियारमार्फत एक गोल फर्कायो । खेल २–१ को अवस्थामा पुगेपछि हुम्लाले बराबरीका लागि निरन्तर दबाब सिर्जना गरेको थियो ।

तर इन्जुरी समयको दोस्रो मिनेटमा सुरज थापाले गोल गर्दै वीरेन्द्रनगरको ३–१ को जित सुनिश्चित गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रनगरका पुरन श्रेष्ठ म्यान अफ दि म्याच घोषणा भए ।
कर्णाली प्रदेश फुटबल संघले आयोजना गरेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग रहेको छ । प्रतियोगिताको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख माेहनमाया ढकालले उद्घाटन गरेकी हुन ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार
अरु पनि पढ्नुहोस्