
सुर्खेत । बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी, घरेलु हिंसा र मानव बेचबिखनजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित आयोजना हुन लागेको ‘कर्णाली छोरी सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
श्री ज्योति फाउन्डेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मेलनका सबै तयारी पूरा भएको जानकारी दिएको हो । फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलन शनिबारदेखि वीरेन्द्रनगरमा सुरु हुनेछ ।
दुई दिने सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने जनाइएको छ । साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी गरी करिब २ सय ५० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना संघर्षका अनुभव सुनाउनेछन् भने महिला अधिकार, मर्यादित महिनावारी, बालविवाह र सामाजिक विभेदका विषयमा विभिन्न छलफल तथा प्यानल सत्र सञ्चालन हुने कार्यक्रम रहेको छ । सम्मेलनबाट प्राप्त निष्कर्ष तीनै तहका सरकारसमक्ष सुझावका रूपमा पेश गरिने आयोजकले जनाएको छ ।
पहिलाे संस्करणबाट मिलेकाे सफलताले कार्यक्रमलाई निरन्तरता दिन हौसला मिलेकाे बताउँदै फाउण्डेसनकी उपाध्यक्ष सिता भण्डारीले यस पटक पनि सबैकाे साथ सहयोग मिल्ने अपेक्षा रहेको बताइन ।
प्रतिक्रिया दिनुहोस्