
हुम्ला : अपाङ्गता पहिचान, सहायक सामग्री नापजाँच तथा छाला एवं कुष्ठरोग परीक्षण शिविरबाट ३४५ स्थानीय लाभान्वित भएका छन् ।
साईनिङ अस्पताल (आईएनएफ) नेपाल, सुर्खेतले स्थानीय तहसँगको सहकार्यमा जेठ १२ र १३ गते गरी दुर्इ दिन सम्म हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकामा शिविर संचालन गरेको हो ।
शिविरबाट कुल ३४५ जनाले सेवा लिएको र तीमध्ये अधिकांश छाला रोगका बिरामी रहेको शिविरमा सहभागी कुष्ठरोग विज्ञ उदयनाथ योगीले बताए ।
कुष्ठरोग विज्ञ योगीका अनुसार खार्पुनाथ गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा आयोजित शिविरबाट १०२ जनाले सेवा लिएका थिए । जसमा ५५ जनाले छाला रोगसम्बन्धी, १७ जनाले अपाङ्गता पहिचान सेवा तथा ३० जनाले अन्य स्वास्थ्य सेवा प्राप्त गरे ।
विज्ञ योगीले अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा २४३ जनाले सेवा लिएको बताए । तीमध्ये २०० छाला रोगका बिरामी रहेको ४३ अपाङ्गतासम्बन्धी र थप उपचार र पुनर्स्थापनाका लागि १७ जनालाई रिफर गरिएको छ ।
खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले हिमाली क्षेत्रमा विशेषज्ञ सेवा नियमित रूपमा उपलब्ध हुन नसक्दा स्थानीयले सामान्य समस्यासमेत जटिल भएपछि मात्रै उपचार खोज्ने अवस्था रहेको बताए । अध्यक्ष रावलले दुर्गम क्षेत्रमा अझै पनि छाला रोग र कुष्ठरोगप्रति डर तथा सामाजिक संकोच कायम रहेको बताए । उनले आगामी दिनमा पनि साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
चिसो मौसम, सरसफाइसम्बन्धी सीमित पहुँच, स्वास्थ्य चेतनाको कमी र विशेषज्ञ सेवाको अभावका कारण यस्ता समस्या दीर्घकालीन बन्दै गएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए । शिविरमा फिजियोथेरापी, अर्थोसिस तथा प्रोस्थेसिससम्बन्धी प्रारम्भिक परीक्षणसमेत गरिएको थियो । अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्रीको नापजाँच गरिनुका साथै पुनर्स्थापनाको आवश्यकता भएका बिरामीको पहिचान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्